कानून व्यवसायीले न्यायाधीशमाथि प्रश्न उठाएपछि जंगिए प्रधानन्यायाधीश राणा

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई भईरहेको छ । सुनुवाईका क्रममा अधिवक्ता मिथिलेस यादवले न्यायाधीशमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आक्रोश पोखेका छन् ।

अधिवक्ता यादवले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिरिनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणा आक्रोशित बनेका हुन् ।

यादवको प्रश्नले आक्रोशित बनेका प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंहरुलाई प्यानल दिउँ को–को बस्ने भनेर ? यो बस्नुस् वा नबस्नुस् भनेर भन्न मिल्दैन। पक्षले भन्दैमा न्यायाधीश छान्ने होइन् । कसलाई छान्ने कुरा पक्षले भनेर हुँदैन। किन बस्न हुदैन ? सिद्धान्तमा रहेर बहस गर्नुस्।’

रिट निवेदकका तर्फबाट बहसमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । तर, यादवसहितका कानून व्यवसायीहरुले संवैधानिक इजलासबाट दुवैजना अलग हुनुपर्ने माग राख्दै आएका छन् ।

कानून व्यवसायीहरुले यसरी विरोध गरेपछि प्रधानन्यायाधीश राणा इजलासमा कस्लाई राख्ने नराख्ने भन्ने सवाल कानून व्यवसायीहरुको नभएको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको पहिलो दिन शुक्रबार नै इजलासमाथि कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए।