मन्त्रीमण्डल पुनर्गठन हुँदै, को-को बन्दैछन् मन्त्री ?
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । जस्ता जोगाइदिएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् ।
सरकारमा राजेन्द्र महतोको नेतृत्वमा १० जना सहभागी हुने ठाकुर–महतो निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली जसपालाई यसअघिनै ८ मन्त्री र २ राज्यमन्त्री दिन तयार भइसकेकाले त्यही अनुसार सरकारमा जाने एक नेताले बताए ।
पार्टीको तर्फबाट वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानसहित गृह मन्त्रालयकोे जिम्मेवारी सहित सरकारमा जाने सहमति भएको ती नेताले बताए । सरकारमा महतोसँगै शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, चन्दा चौधरीको टुंगो लागिसकेको छ।
त्यस्तै, ‘उपेन्द्र यादव समूह छोडेर आएका उमाशंकर अरगरीया र विमल श्रीवास्तवकोसमेत टुंगो लागिसकेको छ,’ ती नेताले भने, ‘मन्त्रालयको नाम र मन्त्रीको सबै नाम भने अन्तिम समयमा मात्रै टुंगो लाग्छ होला। प्रधानमन्त्रीले आफ्ना पार्टीका तर्फबाट हुने मन्त्री पनि फेर्ने सम्भावना छ। सबै टुंगो लागेपछि मात्रै सपथ हुन्छ होला।’
त्यस्तै, दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।