प्रचण्ड–नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा आउन आह्वान गरेपछि आफूपक्षीय स्थायी कमिटी सदस्यसँग बैठक गर्नुअघि नेता नेपालले प्रचण्डलाई भेटेका हुन् ।

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो । आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्दैछन् ।