कोरोनाको तेस्रो लहरसँग जुध्न मन्त्रालयको तयारी सुरु भइसक्योः स्वास्थ्यमन्त्री तामाङ
काठमाडौँ – स्वाथ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले त्यसविरुद्ध जुध्नका लागि सरकारले आवश्यक तयारी सुरु गरेको बताएका छन् ।
कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने जनस्वास्थ्यविद्हरुले बताउँदै आएकाले सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उनको भनाइ छ ।
बालबालिकाको उपचारका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालय जुटिसकेको पनि मन्त्री तामाङले सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए ।
कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल हालै जारी अध्ययादेश अनुसार सञ्चालन हुने पनि उनले बताएका छन् । अध्यादेशमा प्रष्टसँग कोरोना महामारी नसकिँदासम्म वीर अस्पताललाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल रहने व्यवस्था गरेको उनले बताए ।
न्याम्स र वीर दुबै सरकारी अंग रहेकाले पदाधिकारीहरुमा विवाद हुने कुनै पनि कारण नभएको उनको भनाइ छ । उनले कोरोना उपचारको नाममा मापदण्ड विपरित पैसा असुल्ने अस्पतालको अनुगमन गर्ने पनि बताए ।
यस्तै हाल स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको बताउँदै उनले स्वास्थ्य बिमालाई विशेष प्राथमिकता दिएर प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।