नेपाल पक्षले काँध थापेपछि जोगियो सुदूरपश्चिम सरकार ।
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।
मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ ।
प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी नभएको हो ।
५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।