लुम्बिनीमा नीति तथा कार्यक्रम पेश हुँदा, गठबन्धनद्वारा बहिष्कार

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौँ – लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको सांकेतिक बहिष्कार गरेका छन
दिउँसो ४:३० देखि शुरु भएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु अनुपस्थित छन् ।

विपक्षी दलका ४० सांसदमध्ये नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती लगायत केही सांसद मात्र प्रदेशसभा बैठकमा उपस्थित छन् । सत्ता पक्षका सांसदहरु भने अधिकांश उपस्थित छन् ।

गत वैशाख १९ गते अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले जबर्जस्ती मुख्यमन्त्री नियुक्त गर्दै सपथ गराएको विरोधमा मंगलबार प्रदेशसभामा अनुपस्थित भएर सांकेतिक बहिष्कार गरिएको नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले बताए ।

माओवादी केन्द्रका सांसद दामा शर्माले प्रदेश प्रमुख यादवले गत वैशाख १९ गते एमाले नेता पोखरेललाई असंवैधानिक तरिकाले नियुक्त गरेको विरोधमा बहिष्कार गरेको बताइन् ।