योगेश भट्टराईको प्रश्नः विपक्षीसँग मिल्न गएका ओली र नेपाल आपसमा किन मिल्दैनन् ?

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौं– एमाले नेता योगेश भट्टराईले शीर्ष नेताहरू नै एकताको बाधक बनेको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नै पार्टी एकताको समस्याका रूपमा देखापरेका योगेशको टिप्पणी छ ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’, योगेशले फेसबुकमा लेखेका छन् ।

कसले किन र केका लागि यो सबै गर्दैछ भनी उनले प्रश्न पनि गरेका छन् । ‘एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरूबीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ’, उनको जोड छ ।