प्रधानमन्त्रीको ज्यान मार्ने धम्की दिने सांसद वैद्यले मुख खोले, यस्तो रहेछ उनको योजना

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान मार्ने अभिव्यक्ति दिने नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यलेले मुख खोलेका छन् । बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्ति दिएका थिए ।

उनको यो अभिव्यक्तिले लिएर राजनीति तरङ्गित बनेको छ । शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

उनले प्रधानमन्त्रीको पद टिकाउनका लागि जस्तोसुकै हतकण्डा गर्न लागेकाले आफूले त्यस्तो अभिव्यक्ति दिएको बताए । ‘उहाँ प्रधानमन्त्री नै रहिरहने हो भने राष्ट्रियतालाई धेरै ठूलो खतरा भयो । देशकै लागि धेरै ठूलो खतरा भयो । उहाँलाई कुनै पनि हिसाबले प्रधानमन्त्रीबाट बिदा गर्नुपर्यो भन्ने मेरो आशय हो ।’

उनले अगाडी भने, ‘मैले खड्गप्रसाद ओलीलाई व्यक्तिगत रुपमा सशरीर सिध्याउनुपर्छ भनेको होइन, मेरो आसय त्यो होइन । तर उहाँको प्रवृति सिध्याउनुपर्यो भनेको हुँ । प्रधानमन्त्री पद टिकाउन जे पनि गर्न थाल्नुभयो, जे कुरामा पनि सम्झौता गर्न जान थाल्नुभयो । नागरिकता अध्यादेश ल्याइयो, संविधान संशोधनका लागि कार्यदल बनाइयो, आफ्नो पार्टीकै मान्छेलाई पाखा लगाएर मधेशका साथीहरुलाई मन्त्री बनाउनुभयो । प्रधानमन्त्रीको पद टिकाउनका लागि जस्तोसुकै हतकण्डा गर्न लाग्नुभयो । त्यो कुरासँग मेरो आपत्ति हो । उहाँ प्रधानमन्त्री नै रहिरहने हो भने राष्ट्रियतालाई धेरै ठूलो खतरा भयो । देशकै लागि धेरै ठूलो खतरा भयो । उहाँलाई कुनै पनि हिसाबले प्रधानमन्त्रीबाट बिदा गर्नुपर्यो भन्ने मेरो आशय हो ।’