कांग्रेसले चुनाव जित्न केपी ओलीको हत्या गर्न पर्ने ?

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौँ – नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरेर देशलाई मुक्ति दिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि नेपालको राजनीति बजार गर्माएको छ । उनको यो अभिव्यक्तिले चौतर्फी विरोध भइरहेको छ ।

नेकपा एमालले यसको घोर विरोध गरेको छ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै भयानक षडयन्त्र हुँदै गरेको टिप्पणी गरेका छन् । बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद वैद्यले ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्यक्ति दिएपछि बाँस्कोटाले यस्तो बताएका हुन् ।

केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ भन्‍दै बाँस्कोटाले ट्‍वीट गरेका छन् । ‘केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ’ बाँस्‍कोटाले ट्‍वीट गरेका छन् ‘नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाई चाहिन्छ । एमालेहरू सचेत बन ।’

वैद्यले दिएको अभिव्‍यक्‍तिप्रति नेकपा एमाले आपत्‍ति जनाएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रधानमन्‍त्री ओलीको हत्या गर्ने बारे दिएको धम्कीलाई गम्‍भीर रूपमा लिएको जनाएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेको ठहर छ ।