कोरोना भाइरसविरुद्धको खोप भोलिदेखि पुनः लगाइने (खोप केन्द्रसहित)
काठमाडौँ – कोरोना भाइरसविरुद्धको ‘भेरोसेल खोप’ काठमाडौँ महानगरपालिकाले पुनः सुचारू गर्ने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहकालाई भोलीदेखि महानगरभित्रका सबै वडामा खोप कार्यक्रम पुनः संचालन गर्ने भएको हो ।
खोप अभावमा गएको २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो । वडा–वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।
काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुनः खोप सञ्चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको ओलीले जानकारी दिए । ‘१० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ,’ उनले भने, ‘लगाउने मिति सम्मभवतः भोलि वा पर्सिदेखि सुरू हुन्छ । खोप लगाउने मिति सम्भवतः आज सार्वजनिक गर्छौ ।’
यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ ।
महानगरले गत मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो ।