देउवालाई झट्का, हस्ताक्षर फिर्ता लिन माधव नेपाल समूह तयार !
काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन तयार भएको छ ।
कार्यदलका नेता तथा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिच भेटवार्ता तथा सहमतिको नजिक पुग्नै लाग्दा नेपाल समूह हस्ताक्षर फिर्ता लिने निष्कर्षमा पुगेको हो ।
नेपाल समूहका नेता एवं उपाध्यक्ष भीम रावलले पार्टीभित्रको कुरा मिलेमा देउवालाई दिएको समर्थन फिर्ता लिनु ठूलो कुरा नभएको बताए ।
पार्टी पूर्व अवस्थामा फर्किएमा देउवाका लागि गरेको हस्ताक्षर फिर्ता लिने कुरा स्वभाविक भएको रावलको भनाई छ ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले देउवाभन्दा पार्टी मुख्य कुरा भएको र साझा मान्यताबाट अघि बढ्ने स्पष्ट पारे ।
रावलले नेता नेपाललाई अध्यक्ष बनाउने औपचारिक प्रस्ताव नआएको पनि स्पष्ट पारे । नेता नेपाल सहमतिका लागि लागिपरेको र एकदुई दिनमै परिणाम देखिने उनको भनाई छ ।
अहिलेसम्म भइरहेको छलफल सकारात्मक भएको र सहमतिपत्रमा हस्ताक्षरको तयारी भइरहेको रावलले जानकारी दिए ।