दस बुँदे सहमति भएपछि माधव नेपाल ‘आगो’, प्लेन छुट्नेवाला थिएन, किन भयो रातारात सहमति ?
काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलले १० बुँदे सहमति गरेपछि माधव नेपाल आक्रोषित भएका छन् । चौध घन्टाको म्याराथन बैठकपछि एमाले कार्यदलले आइतबार राति दसबुँदे सहमतिपत्र सार्वजनिक गरेको थियो ।
उक्त सहमतिमा बरिष्ठ नेता माधव कुमार नेपालले शंका व्यक्त गरेका छन्। उनले ‘रातारात गरेको सहमतिले शंका उत्पन्न गरेको’ आफूनिकट नेतालाई बताएका छन्।
‘यति रातारात सहमति गरेको कुराले नै शंका उत्पन्न गरेको छ,’ सहमतिपत्र सार्वजनिक भएपछि नेपालसँग कुरा गरेका ती नेताले उनलाई उद्धृत गर्दै भने, ‘यति रातारात गर्नुपर्ने जरूरी थिएन। प्लेन छुट्नेवाला थिएन।’
नेता नेपालले ‘प्याकेजमा सबै कुरा क्लियर नभएसम्म आफू कुनै पनि बैठकमा नजाने र सहमतिमा नआउने’ पनि बताएको ती नेताले जानकारी दिए।
‘कार्यदलले गरेको सहमतिको विषय मैले हेर्न पाएको छैन। अध्ययन गर्न पाएको छैन। जबसम्म सबै कुरा क्लियर हुँदैन, तबसम्म म कुनै पनि बैठकमा जान्न,’ नेता नेपाललाई उद्धृत गर्दै ती नेताले भने, ‘अदालतको सम्बन्धमा कुनै प्रभाव पार्ने र ढाँचा परिवर्तन गर्ने खालको कुरा मलाई मञ्जुर छैन।’
कार्यदलले गरेको दसबुँदे सहमतिबारे आफूनिकट नेता(कार्यकर्ताहरूसँग छलफलपछि मात्र अगाडिको कदम तय हुने नेता नेपालले बताएका छन्।