सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डामा सहमति, बाबुरामलाई चिठ्ठा
काठमाडौँ – सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । सहमति अनुसार उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीलाई चिठ्ठा परेको छ ।
१२ जना मात्र सांसद रहेको जसपाले ६ मन्त्रालय पाउने भएपछि चिठ्ठा परेको हो ।६१ सिट भएको कांग्रेस र ४९ सिट भएको माओवादी केन्द्रकै हैसियतमा मन्त्री पाउनु जसपाका लागि चिठ्ठा परेको हो । अहिलेको क्याविनेटमा प्रधानमन्त्रीसहित ५ मन्त्री छन् । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको नेताहरुले बताएका छन् । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आएका छन् ।
गठबन्धनमा नेपाल समूहलाई आठ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ । प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई गरी चार जनालाई मन्त्री नियुक्ति गरिसकेका छन् । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेकाले जसपा उपेन्द्र यादव नेतृत्वको समूह उक्त विवाद हल भएपछि मात्र सरकारमा सहभागी हुनेभएको छ ।
देउवा नेतृत्वको सरकारमा जसपाले सात मन्त्रालय माग गरे पनि छवटामा सहमति भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिनका लागि निर्णायक एमालेका नेपाल समूह हो । नेपाल समूहले विश्वासको मत नदिएको अवस्थामा संसद् विघटन गरेर पुनः निर्वाचनमा जाने अवस्था सृजना हुनेछ । प्रधानमन्त्री देउवा विश्वासको मत लिएर बाँकी कार्यकाल प्रधानमन्त्री बन्ने योजनामा रहेका छन् । प्रतिनिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै कोटेश्वरमा बसेको गठबन्धनको बैठकमा नेता नेपालले पार्टीभित्र दशबुँदे सहमति भएकाले गठबन्धनमा रहन नसक्ने संकेत गरेका थिए ।
तर, असार २९ मा प्रधानमन्त्री देउवा नियुक्त भएसँगै आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी भएर नेता नेपालले देउवालाई पहिलो बधाई दिएका थिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्नेहरूको नामावली तयार भएको बताइएको छ । नेता पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला समूहबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा काठमाडौंबाट राजन केसीलाई बनाउने विषयमा सहमति भएको बताइएको छ ।
काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित केसी यसअघि युवा तथा खेलकुदमन्त्री बनेका थिए । त्यसैगरी, कांग्रेसबाट मीनेन्द्र रिजाल, डिला संग्रौला, गगन थापा, सञ्जय गौतम, दिलेन्द्र बडु, तिजुलाल चौधरीलगायतको चर्चा छ । गत निर्वाचनमा कांग्रेसबाट २३ प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका थिए । त्यसैगरी माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र पनि मन्त्री बन्नका लागि नेताहरूबीच दौडधुप तीव्र बनेको छ ।