प्रेरक प्रसंगः आजको काम भोलिलाई नसाँचौ
काठमाडौं– महाभारतको युद्ध समाप्त भइसकेको थियो । युधिष्ठिर राजा बनेका थिए । आफ्ना चारै जना भाइहरूको सहयोगमा उनी राजकाज चलाइरहेका थिए ।
प्रजाको भलाइका लागि पाँचै भाइ मिलेर काम गर्थे । जो कोही दीन–दुःखी गुनासो लिएर आउँथ्यो, त्यसलाई जसरी पनि सहयोग गरिन्थ्यो । एक दिन युधिष्ठिर राजभवनमा एक मन्त्रीसँग कुराकानी गरिरहेका थिए । कुनै समस्यामाथि गहन विचारविमर्श भइरहेको थियो । त्यही बेला एक ब्राह्मण त्यहाँ पुग्छन् ।
केही दुष्टहरूले ती ब्राह्मणलाई सताएका थिए । उनीहरूले ब्राह्मणको गाई खोसिदिएका थिए । ती ब्राह्मण महाराज युधिष्ठिरसामु यही गुनासो लिएर आएका थिए । मन्त्रीसँग कुराकानीमा व्यस्त रहेकाले युधिष्ठिरले उनको कुरा सुन्न पाएनन् । उनले ब्राह्मणलाई बाहिर पर्खिन भने । ब्राह्मण भवनबाहिर निस्केर महाराज युधिष्ठिरको प्रतिक्षा गर्न थाले ।
मन्त्रीसँग कुराकानी सकिएपछि महाराजले ब्राह्मणलाई भित्र बोलाउन चाहे तर त्यही बेला भित्र कुनै देशका दूत पुगिहाले । युधिष्ठिर फेरि कुराकानीमै व्यस्त भए । एकपछि अर्को कोही न कोही आएर युधिष्ठिरसँग कुराकानी गरिरहेका थिए ।
धेरै जनासँग कुराकानी गरिसकेपछि महाराज भवनबाट बाहिर निस्किए । र पनि ब्राह्मणले प्रतिक्षा गरिरहेको उनले देखे । युधिष्ठिरले ब्राह्मणसँग भन्छन्, ‘आज म धेरै नै थाकेको छु । तपाईं भोलि बिहान आउनुहोला । हरसम्भव तपाईंको सहायता हुने छ ।’ यति भनेर युधिष्ठिर विश्राम भवनतिर अघि बढे ।
तर, ब्राह्मण युधिष्ठिरको व्यवहारबाट निकै निराश भए । उनी दुःखी मन लिएर घर फर्किन लागे । उनी घर हिँड्नै लागेका थिए, त्यही बेला उनको भेट युधिष्ठिरका भाइ भीमसँग भयो। भीमले ब्राह्मणसँग उनको दुःखको कारण सोधे । ब्राह्मणले भीमलाई सबै कुरा सुनाए । युधिष्ठिरले भोलि बिहान आउनू भनेका कुरा पनि ब्राह्मणले सुनाइदिए ।
ब्राह्मणको कुरा सुनेपछि भीम पनि दुःखी भए । उनी महाराज युधिष्ठिरको व्यवहारदेखि पनि निराश भए । उनले केहीबेर सोचेपछि द्वारपाललाई आज्ञा दिए, ‘सैनिकसँग भन्नु कि विजयको अवसरमा बजाउने बाजा बजाउनू ।’ आज्ञाको पालना भयो । सबै ढोकाहरूमा तैनाथ सैनिकहरूले विजयको अवसरमा बजाउने बाजा बजाउन सुरु गरे ।
महाराज युधिष्ठिरले पनि बाजाको आवाज सुने । उनी निकै अचम्मित भए, ‘किन बाजा बजाइयो ?’
उनी विश्राम कक्षबाट बाहिर आए ।
कक्षबाट बाहिर निस्कँदै गर्दा उनको भेट भीमसँग भयो । उनले भीमलाई सोधे, ‘विजयको अवसरमा बजाउने बाजा किन बजाइरहेका छन् रु हाम्रो सेनाले कुनै शत्रुलाई परास्त गरेको हो ?’
भीमले नम्रतापूर्वक उत्तर दिए, ‘महाराज, हाम्रा सेनाले कुनै शत्रुमाथि विजय प्राप्त गरेका छैनन् ।’ ‘त्यसो भए किन बजाएको त बाजा ?’ युधिष्ठिरले प्रश्न गरे ।
‘किनकि, थाहा भयो कि महाराज युधिष्ठिरले कालमाथि विजय प्राप्त गर्नुभएको छ’, भीमले कुटिल जवाफ दिए ।
भीमको जवाफ सुनेर युधिष्ठिर अझै चकित भए । उनले सोधिहाले, ‘मैले कालमाथि विजय प्राप्त गरे रे ! तिमी के भन्न खोजिरहेका छौ ?’
भीमले युधिष्ठिरसँग आँखा जुधाएर जवाफ फर्काए, ‘महाराज, केही बेरअघि तपाईंले एक ब्राह्मणलाई भोलि आउनू, तिम्रो समस्यामा भोलि सहयोग गर्छु भन्नुभएको रहेछ । यसबाट प्रस्ट हुन्छ कि तपाईंलाई थाहा छ, तपाईंको मृत्यु आज हुनै सक्दैन । कालले आज तपाईंको केही बिगार्न सक्दैन । यो सुनेपछि मैले सोचें कि तपाईंले पक्कै कालमाथि विजय प्राप्त गरेकैले यस्तो आश्वासन दिनुभयो । नभए ती बाह्मणलाई भोलि आउनु किन भन्नुहुन्थ्यो होला र ! त्यसैले मैले विजयको अवसरमा बजाउने बाजा बजाउन लगाएको हुँ ।’
भीमको कुरा सुनेपछि युधिष्ठिरको आँखा खुल्यो । उनले आफ्नो गल्ती थाहा पाए । त्यही बेला उनले पछाडि उभिएका ब्राह्मण देख्छन् । लगत्तै ब्राह्मणको कुरा सुनेर उनलाई आवश्यक सहयोग गर्न आदेश दिन्छन् ।
हामीभित्र एउटा निकै खराब बानी हुन्छ, त्यो हो काम साँच्नु । आफ्नो यही आदतका कारण हाम कहिलेकाहीँ बन्नै लागेको काम बिगार्छौँ, जसबाट हामीले भारी नोक्सानी बेहोर्नुपर्छ । कहिलकाहीँ त यस्तो बानीले गन्तव्यसम्म पुग्न लागेर पनि रोकिन बाध्य भइन्छ ।
जुन काम हामीलाई आजै गर्नु छ, त्यो भोलि त्यति नै महत्त्वको नरहन सक्छ । परिस्थिति बदलिरहन्छ । त्यसैले पनि हामीले साँचेका काम भोलिका दिनमा महत्त्वमा नपर्न सक्छन् अथवा त्यसको उपलब्धि त्यति महत्त्वपूर्ण नरहन सक्छ । त्यसैले आज गर्ने काम आजै गर्नुपर्छ, के थाहा भोलि के हुन्छ !