प्रधानमन्त्री देउवाको कुर्सी बालुवाटारबाट गायव
काठमाडौँ – प्राय राष्ट्रपतिको तस्वीरको मुनी कुर्सी राखेर प्रधानमन्त्रीले आफ्नो भेटघाट र छलफल गर्ने परम्परा छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार यो भन्दा फरक र अनौठो दृष्य देखियो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दा प्रधानमन्त्री कुर्सी हराएको थियो । गठबन्धनको सरकारले कुर्सीमा बसेर कुरा गर्न भन्दा सोफामै बसेर वान टु वान वार्ता गर्न सजिलो हुने भएकाले प्रधानमन्त्रीको कुर्सी हटाइएको हो ।
अबदेखि राष्ट्रपतिको तस्बिरलाई छेकेर होइन् यसरी नै देख्नेगरी शिष्टाचार भेटवार्ता गर्ने बालुवाटार श्रोतको भनाई छ । युताकाले बिहीबार दिउँसो भेटको क्रममा दुई देशबीच सम्बन्धलाई मजबुत बनाउने बारे छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले राजदूत युताकालाई जापान सरकारले नेपाललाई कोरोना विरुद्ध एस्ट्रेजेनेका खोप उपलब्ध गराइदिएकोमा धन्यवाद दिएका थिए ।
जापान सरकारले यसअघि नेपाललाई कोभ्याक्स कार्यक्रम मार्फत् १६ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको थियो । यसवाहेक राजदूत युताकाले देउवालाई बधाइ साथै शुभकामना समेत दिएका थिए ।
प्रधानमन्त्री देउवाले पनि उनलाई मायाको चिनो उपहार प्रदान गरेका थिए । काठमाडौँस्थित जापानी दूतावासले बिहीबारको भेटवार्ताबारे विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।