कक्षा १२ को परीक्षा रोक्न विनोद चौधरी मैदानमा, रवि लामिछानेको पनि साथ
काठमाडौं – कक्षा १२ को परीक्षा रोक्न विभिन्न क्षेत्रका व्यक्तित्वहरु लागि परेका छन् । कोरोना महामारीको संक्रमण बढेको भन्दै नजिकिदै गरेको परिक्षा रोक्न चर्चित व्यक्तित्वहश्ररु लागि परेका छन् ।
भौतिक उपस्थितिमा परीक्षा गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै रोक्न आग्रह गर्नेमा नेता र सेलिब्रिटीदेखि साहित्यकारसम्म छन् । गत जेठ २६ गते हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।
कोरोना मत्थर भएसँगै राष्ट्रिय परीक्षा बोर्डले गत साउन ५ गते एक सूचना प्रकाशित गरी साउन ३१ गतेदेखि ९ गतेसम्म परीक्षाको नयाँ तालिका प्रकाशित गर्यो । तत्कालीन सीसीएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी ‘होम सेन्टर’ (आफू पढेकै विद्यालय) परीक्षा गराउन निर्देशन दिएको थियो ।
तर, परीक्षाको मिति नजिकिँदै गर्दा कोरोना संक्रमण दर फेरि बढ्न थालेको भन्दै स्थगनको माग उठेको हो । स्थगनका लागि दबाब दिन सामाजिक सञ्जालमा #CancelNEBExams ह्यासट्याग चलाइएको छ, जुन अहिले ट्रेन्डिङमा छ । त्यस्तै ट्विटर ह्यान्डलसमेत खोलिएको छ ।
परीक्षा रोक्नुपर्ने लविङ गरिरहेकाहरुले विद्यार्थीलाई विद्यालयमै बोलाएर परीक्षा गराउँदा कोरोनाको जोखिम बढ्ने तर्क राखेका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षाभन्दा जीवन बढी जरुरी रहेको भन्दै सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गर्नुपर्ने बताउँछन् ।
उनले लेखेका छन्, ‘म मेरी छोरीको सुरक्षित भविष्य चाहन्छु । त्यसैले चाहन्छु अरुधेरै छोराछोरीको भविष्य सुरक्षा । सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी ।’
अर्बपति विनोद चौधरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै परीक्षा स्थगन हुनुपर्ने राय व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ । यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन ।’
जीवन रहे पढाइ र परीक्षाका अवसर आउने भन्दै उनले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मी रवी लामिछानेले स्वास्थ्यभन्दा ठूलो कुनै परीक्षा नहुने भन्दै भ्याक्सिनको व्यवस्था गरेर मात्रै परीक्षा गर्नुपर्ने सुझाएका छन् ।
विद्यार्थीहरू परीक्षासँग नभएर कोरोनाको खतरासँग मात्रै डराएको उनको तर्क छ । ‘परीक्षा बोर्डलाई विन्ती ः बिना तयारीको परीक्षा रोकौं वा अनलाइनबाट गराऔं,’ उनले लेखेका छन् ।
साहित्यकार सुविन भट्टराईले परीक्षाभन्दा माथि स्वास्थ्य भएको बताएका छन् । उनले लेखेका छन्, ‘कुनै पनि कुराको महत्व समय र परिस्थितिअनुसार हेरिनुपर्छ । परीक्षा कति महत्वपूर्ण छ, विद्यार्थीले बुझेकै छन् । तर अहिले परीक्षाभन्दा माथि गएर स्वास्थ बुझ्ने बेला हो ।’
परीक्षाले पर्खिन सक्ने भन्दै उनले अविलम्ब भौतिकरुपमा परीक्षा सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कोरोनाको तेस्रो लहरको सेन्टर परीक्षा केन्द्र बन्नु नहुने भन्दै रोक्न माग गरेका छन् ।
परीक्षा केन्द्रहरुको तयारी, यातायात लगायतको व्यवस्थापन हेर्दा परीक्षा सुरक्षितरुपमा गर्न सनक्ने अवस्था नदेखिएको उनको तर्क छ ।