राष्ट्रका नाममा प्रधानमन्त्री देउवाको पहिलो सम्बोधन, घर बाहिर नआउन उर्दी (भिडियोसहित)

शनिबार, २३ साउन २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन् ।

‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्।’ शनिबार भिडिओ सन्देशमार्फत् उनले भनेका छन् ।

‘सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं।’ उनले भनेका छन्, ‘त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’

बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्। ‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं। स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालना गरौं,’उनले भने।

महामारी नियन्त्रण गर्ने सबभन्दा आशा भनेकै खोप हो भन्दै खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न उनले अपिल गरेका छन्। सम्पूर्ण राजनीतिक क्षेत्र, निजी क्षेत्र, गैर सरकारी क्षेत्रलाई समेत भिडभाड हुने कार्यक्रम नगर्न उनले सुझाएका छन्। भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस् ।