महन्त ठाकुरको ग्रहदशा विग्रीयो, एकैदिन लाग्यो दोहोरो झट्का

सोमबार, २५ साउन २०७८

काठमाडौं – जनता समाजवादी पार्टी नेता महन्त ठाकुरलाई एकै दिन दुई ओटा अप्रत्यसित निर्णय सुन्न परेको छ । यो निर्णयले उनको राजनीतिक जीवनमा ब्रजपात भएको छ ।

आज सर्वोच्च अदालतबाट र निर्वाचन आयोगबाट उनी विरुद्धका दुई ओटा निर्णय आएपछि धेरै उनको ग्रहदशा विग्रेको भनेर विश्लेषण गरेका छन् । जसपाले निश्कासन गरेका लुम्बिनी प्रदेशसभा सांसदका पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए । तर सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले उनीहरुलाई कारबाही गरेको थियो ।

यसअघि पनि जनता समाजवादी पार्टीले उनीहरुलाई निष्कासन गरे पनि सर्वोच्च अदालतले तत्काल सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनीहरुको सांसद पद कायम रहेको थियो । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दिएको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुँदैछ ।

यी तीन सांसद कायम रहेको भए विपक्षी दलले दर्ता गरेको अविश्वास प्रस्ताव पारित नहुने अवस्था थियो । तीन सांसद निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा ८० सदस्यीय भएको छ र अविश्वास प्रस्ताव पारित हुन ४१ सांसदको मत आवश्यक पर्छ ।

लुम्बिनीमा नेपाली कांग्रेसको १९, माओवादी केन्द्रका १८, जसपाको ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् । सत्तारुढ नेकपा एमालेको भने ३८ सांसद छन् ।

त्यस्तै, निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ । आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

अब जसपाको अध्यक्षबाट ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।

गत वर्ष वैशाखमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन हुन लागेपछि रातारात तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण गरेर महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको कार्यकारिणी समिति निर्वाचन आयोगमा दर्ता भएको थियो । यसबीचमा विवाद बढेर जसपाको आधिकारिकता यादवले पाएका थिए ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६जना ठाकुर पक्षमा । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा स्थान दिएको छ ।