केपी ओलीको अर्को सरकार पनि ढल्यो, भीम आचार्य बन्दै मुख्यमन्त्री

बिहिबार, १० भाद्र २०७८

इटहरी – नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश १ सरकार ढलेको छ । वर्तमान मुख्यमन्त्री शेरधन राईले आजै राजीनामा दिने भएपछि केपी ओली निकटका सबै सरकार ढलेका छन् ।

राईकै प्रस्तावमा भीम आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त हुने खवर छ । आजै सपथ गराउने कार्यक्रम तय भएको छ ।

आचार्यलाई दलको नेता चयन गर्न आज ११ बजे एमाले प्रदेश(१ संसदीय दलको बैठक बस्दैछ । बैठक बारेमा साम्सदहरुले सार्वजनिक नबोले पनि ११ बजे फाइनल भएको र नयाँ संसदीय दलको नेता चयन हुने उनीहरुको भनाइ छ।

नाम नबताउने सर्तमा मोरङका एक साम्सद भन्छन्, ‘बैठकले संसदीय दलको नेतामा भीम आचार्य चयन हुने र ३ बजेभित्रै मुख्यमन्त्रीको सपथ लिने सम्भावना छ।’

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् ।

‘अब गुट भन्दा पार्टी महत्त्वपूर्ण भएकोले जे गर्दा एमाले पार्टी र सरकार जोगिन्छ त्यही गर्न मुख्यमन्त्री तयार हुनुनुन्छ,’ स्रोत भन्छ ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन २६ का विरुद्ध २४ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए। खोटाङका साम्सद राजन राईको मत बदर भएको थियो।

साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् । २०७४ फागुन २ मा मुख्यमन्त्री भएका राई २०७८ भदौ १० मा आएर त्याग गर्न तयार भएका छन् ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले जतिसक्दो जोगाउन कुनै समयका प्रतिस्पर्धी राई र आचार्य एकै कित्ता भएका छन् ।

अहिले प्रदेश १ मा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेशकुमार कम्बाङ मात्रै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजबादीमा गएका छन् ।

नयाँ संसदीय दलको नेता र सरकार बनाउने कुरामा मात्रै होइन चालू आर्थिक वर्षको प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्ने मुद्दामा पनि मुख्यमन्त्री राई र नेता आचार्य एक भएका थिए।