धरहरा भत्काउन लागेको खुलासा
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले धरहरा पनि भत्काउन सक्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पालामा सुरु भएका विभिन्न योजनाहरु सरकारले रोकेको भन्दै धरहरा पनि भत्काउन सक्ने बताएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘भक्तपुरमा क्रेन लगेर मूर्तिको घाँटी मर्काएका थिए नि एक पटक । तपाईंहरु नहुने हो भने धरहराको घाँटी मर्काउँछन् यिनीहरुले । धरहरा फेरि बनाउने हो भन्छन् । रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मुर्ति भत्काउन सक्छन्, त्यो पनि याद गर्नुहोला’ ओली भने ।
आफूले शिलान्यास गरेका सडकहरुको ठेक्का रोक्ने सरकारको निर्णयको विरोध गर्दै उनको यस्तो कुरा बताएका हुन् ।
पूर्व तयारी नपुगेको र स्रोत सुनिश्चित नभएको भन्दै नयाँ सरकारले ओलीले शिलान्यास गरेका २ हजार बढी सडकको ठेक्का तत्काल नलगाउन भनेको छ । ओलीले भने विकास हुन्छ भन्ने वर्तमान सरकारलाई पीर परेको बताए ।
सरकारलाई विकासविरोधी करार गर्ने क्रममा उनले धराहराको घाँटी मर्काउने र रानीपोखरीमा ढुंगा हान्ने दाबी गरे । सरकारले विकासको गति रोकेको र कर्मचारीमा सरुवा तथा कारबाहीको आंतक फैलाएको उनको आरोप छ ।
अस्वस्थ भएर भेटघाटसमेत स्थगित गरेका ओलीले शनिबार दिउँसो काठमाडौं महानगरपालिका स्तरीय कार्यकर्ता भेलामा उपस्थित भए । सम्बोधनको सुरुमै उनले बढी काम, थकान भएर ज्वरो आएको, तर अस्वस्थ भनेर हल्ला भएको बताए ।
उनले अघि भने, ‘क्यार कतिसम्म बिरामी भएको हो भन्ने तस्वीर आफैं बोल्छ भने झै बोलेर भनेर आएको छु ।’ आधा घण्टा भन्दा बढी सम्बोधन गरेका ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र सत्तारुढ गठबन्धनको चर्को आलोचना गरे ।
एमाले विभाजन गरेर नयाँ दल बनाएका माधवकुमार नेपाल र एमाले परित्याग गरेका बामदेव गौतमको पनि आलोचना गरे । हुम्लामा चीनसँग देखिएको सीमा विवादबारे अध्ययन गर्न सरकारले हालै समिति बनाएकामा पनि पूर्व प्रधानमन्त्री ओलीले आलोचना गरे ।
चीनसँग कुनै सीमा विवाद नभएको भन्दै उनले भने, ‘कसलाई खुसी पार्न चीनससँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो ?’ देउवा सरकारले हालै मात्र गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाउने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु, यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् ।’सरकारले भारत र चीनसँग सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको उनको आरोप छ ।
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको धारणा मागेका छन् । कांग्रेस र माओावादी भएकै बेलामा एमसीसी सम्झौता भएको भन्दै ओलीले भने, एमसीसी के गर्ने शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? प्रचण्डजीले बोल्नु पर्दैन ? हिजो साइन गर्नुभएको थियो । अहिले चुपचाप हुनुहुन्छ ।’
सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरु गठजोड गरेर झ्यालबाट सरकारमा पुगेको बताए । अब झ्याल र भेन्टिलेटरमा पनि जाली हाल्ने भन्दै उनले आउँदो चुनावमा कतैबाट पनि छिर्न नदिइने बताए । उनले अघि भने, ‘अब यस प्रकारको गठजोडको सरकार बन्ने अवस्था अन्त्य गरिदिन्छौं ।’
काठमाडौंमा पनि एमालेबाहेकका अरुले जित्न नहुने उनले बताए । ओलीले भने, राजधानीमा एमाले बाहेक जनप्रतिनिधि भनेर कोही पनि उम्किन नपाओस् ।’
रानीपोखरी बनाउन लाग्दा ताला लगाएको, धरहरा बनाउन लाग्दा झिल्के धराहरा चाहिँदैन भनेको भन्दै उनले भने, ‘महानगरमा अरु पार्टी छान्न लायक छ र ? काठमाडौंमा मेयर कुन पार्टीको छ भन्दा एमाले भन्दा अरु कसको भन्न सुहाउँछ ?’
ओलीले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र एमाले परित्यागको घोषणा गरेका बामदेव गौतमको पनि आलोचना गरे ।
नेता नेपालले प्रधानमन्त्री हुन राजालाई दाम चढाएको भन्दै उनले भने, ‘सुन्दा पनि बेइज्जत, कहिले ‘प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’
२०६४ सालको संविधानसभा निर्वाचनमा २४० सिटमा एमालेलाई ३३ सिटमा सीमित गरेपछि मुख देखाउन नसक्ने स्थिति भयो भनेर पार्टीबाट राजीनामा गरेको, तर अहिले यो पुगेन, त्यो पुगेन भनेर विवाद झिकेको उनको आरोप छ ।
ओलीले अघि भने, ‘हाम्रा घरका बिरालाहरु शेरबहादुर देउवाको घरमा देखिन्छन् । दूधभात खान पाइन्छ भनेर म्याउ गरेर गएछन् ।’
गौतमलाई भने उपप्रधानमन्त्री हुन आफूलाई गाली गर्दै एमाले छाडेको आरोप लगाए । ‘कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, हामीलाई सम्मान गर्नुभएन । त्यसकारण तपाईंको पार्टी छोडेँ,’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाऊँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ओलीलाई गाली किन गर्ने ?’
आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै सम्बोधन सुरु गरेका एमाले अध्यक्ष ओलीले विट मार्दा पनि त्यहीँ पुगे । धेरै नै थकित भएर ज्वरो आएको भन्दै उनले भनेका छन्, ‘मैले एक दुई दिन चाहिँ धेरै थकित नहुनु पर्नेछ । अलि थकाई मार्नुपर्छ भन्ने डाक्टरको सल्लाह छ । म यहाँहरुसँग विदा लिन्छु र अहिलेलाई थकाई मार्न हिँडेँ ।’