एमसीसीविरुद्ध माहोल बनेपछि अर्कै धन्दामा जुटे प्रचण्ड
काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) बारे नेपालमा चर्को विवाद भइरहेको छ । जनमानसमा यसको चर्को विरोध भइरहेका बेलामा प्रचण्ड भने अर्कै धन्दामा लागेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउन कम्मर कसेर लागेका छन् । उनले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा कम्युनिष्टहरुलाई एक बनाएर झण्डा उठाउने घोषणा गरेका हुन् ।
उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए । माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रबिक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताए । माओवादी केन्द्र र नेकपा (एमाले)बीच हुँदा आफूहरू कमजोर नभएको बताए ।
प्रचण्डले कम्युनिष्टह्र एक बनाउने उद्घोष गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पनि तरंग पैदा गरेको छ । आफ्नै पार्टी फुटेको पिडा सेलाउन नपाउदै कम्युनिष्टहरु एक भए एमाले नराम्रोसँग पराजित हुने देखिएपछि एमाले ओली झस्किएको बताइन्छ ।
उनले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताए । उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने बताए ।
उनले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएको दाबी गरे । माओवादी जनयुद्धको मूल्याङ्कन, राष्ट्रिय जागरणको मूल्याङ्कन, कुन पार्टीले ल्यायो, मूल्याङ्कन हाम्रो पक्षमा रहेको प्रचण्डको दाबी छ ।
नेकपा माओवादीका जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताए । उनले कार्यकर्तादेखि नेतासम्म पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता रहेकाले त्यो अभियान छिटो सञ्चालन हुने बताए ।
कार्यक्रममा जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले माओवादीले पार्टी सङ्गठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताए । उनले पार्टीका अब नियमित गतिविधिहरू सञ्चालन हुने र त्यसले पार्टीलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।
नेकपा माओवादी जिल्ला समितिलाई समन्वय समितिमा बदलिएपछिको यो पहिलो बैठक हो । माओवादीका जिल्ला तथा गाउँपालिकाको अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।