सभामुखमाथि महाअभियोगको लगाउने तयारी

शनिबार, २६ भाद्र २०७८

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटालाई महाअभियाग लगाउने तयारी थालेको छ । त्यसका लागि हस्ताक्षर चलिरहेको श्रोतको दावि छ ।

यस विषयमा निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक आज बस्दै छ। बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन)का विषयमा पनि छलफल हुने छ । चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो।

एमाले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधि सभा बैठक सञ्चालन गरेका थिए। प्रमुख प्रतिपक्षीलाई पेलेरै लगेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गरेर सभामुखलाई हटाउने तयारीमा एमाले जुटेको छ ।

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका १४ जना सांसदलाई कारवाही गरेको पत्र प्रतिनिधिसभामा दर्ता गराएको थियो । पत्र दर्ता भएको १५ दिनभित्र सभामुखले पार्टीले कारवाही गरेका सांसदको पद खारेज गर्न पर्ने हुन्छ ।

पत्र दर्ता भएको १३ औँ दिनमा सभामुख सापकोटाले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश अनुसार एमाले विभाजन बनेर अर्को दल बनिसकेकाले १४ जना सांसदलाई कारवाही गर्न नपर्ने निर्णय गरेका थिए ।

तर एमालेले सभामुखले जालसाझी पूर्ण निर्णय गरेको भन्दै विरोध गर्दै आएको छ । यस विषयमा सभामुख विरुद्ध सर्वोच्च अदालतमा मुद्धासमेत परेको छ । प्रारम्भीक सुनुवाई गर्दै अदालतले सभामुखसहित रिट निवेदकलाई भदौ २८ गते अदालतमा जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

सभामुख सापकोटाले अदालतमा विराधीन मुद्धा भएको भन्दै संसदमा विरोध गर्न नपाईने रुलिङ गरेका थिए । तर एमालेले सभामुखले संसदीय मर्यादा कायम नराखेको भन्दै ससंदमा नारावाजी गरिरहेको छ ।

यता एमालेको विरोधका बाबजुद पनि संसदले आफ्नो काम कारवाही गरिरहेको छ ।