संखुवासभा घटनामा यसरी सफल भयो प्रहरी, यस्तो छ पक्राउ परेका लोकबहादुरको वयान
विराटनगर – गएको एक हप्ताअघि संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा अप्रत्यसीत घटना घट्यो । उक्त घटना कुनै चलचितमा देखाइएको सिन तस्तै देखेपछि प्रहरी नै चकित पर्यो ।
उक्त घटनामा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रहरीले अनुसन्धानका लागि ठूलो चुनौति बन्यो । पानी परिरहनु पनि प्रहरीलाई अबरोधको एउटा कारण थियो ।
प्रहरीले अनुसन्धान सुरु घरमा भएको पैसा बाट गर्यो । सुरुमा प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ ।’
मृतक तेजबहादुर कार्कीका दुई छोरा विदेशमा हुनु, ८० लाख रुपैयाँमा जग्गा बैना गर्नु र जग्गा पास गर्न जाने अघिल्लो दिन घटना हुनुले यो आशंका स्वाभाविक थियो । तर प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेट्यो ।
पहिलो शंका कमजोर भएपछि प्रहरी प्राविधिक विश्लेषणमा जुट्यो । घटना घट्नु हप्ता दिनअघि र घटना भएको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाएन ।
घटनास्थल आसपास दुई वटा बीटीएस टावरको कनेक्सन थियो । घटनास्थलबाट १० किलोमिटर आसपास १५० हाराहारी मोबाइल नम्बर सक्रिय भेटिए । उनीहरुमध्ये शंकास्पद केही नम्बर प्रयोगकर्तालाई प्रहरीले बोलाएर सोधपुछ पनि गरेको थियो ।
सोधपुछका क्रममा लोकबहादुरले बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।
तर ठोस उपलब्धि हात नलागेपछि प्रहरीले निष्कर्ष निकाल्यो, ‘घटनामा बाहिरका मान्छे सहभागी छैनन् ।’ अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार भौगोलिक विकटताका कारण बाहिरका मान्छे आएर हत्या गरेर भागिहाल्न सक्ने अवस्था थिएन । तर तालिमप्राप्त कुकुरको प्रयोग पनि प्रभावकारी भएन ।
त्यसपछि प्रहरीले मानव जनशक्तिबाटै अनुसन्धान सुरु गर्यो । आशंकाको घेरामा गाउँलेहरु परे । पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनी थिए ।
उनैले लगातार बयान फेर्न थालेपछि प्रहरीले लोकबहादुरमाथि निगरानी बढायो । त्यसक्रममा उनको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार अनुसन्धान सुरु गर्दा उनीमाथि शंका गरिएको थिएन । हेर्दा सोझो देखिने उनको मानसिक अवस्था पनि कमजोर भएको परिवारका सदस्यहरुले बताएका थिए ।
तर सोधपुछका क्रममा बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।
लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो । त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन् ।
‘बडाउ (तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।’
तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’ डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।
बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनीबुहारी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या आरोपमा उनै लोकबहादुर पक्राउ परेका छन् ।