सुवास नेम्वाङको एक बोलीले सर्वोच्च अदालतमा खैलाबैला

आइतबार, ३ असोज २०७८

काठमाडौँ — एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार एमालेले आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भूमिका खेल्ने न्यायाधीश तथा वकिलहरुलाई सम्मान अस्वीका र गर्न आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी, व्यक्तिलगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै अस्वीकार गर्न आग्रह गरेका हुन् ।

‘म मान्य न्यायाधीशज्यूहरुलाई आदर गर्छु । त्यसैले यो कार्यक्रममार्फत उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस् । मेरो मान्य न्यायाधीशज्यूहरुलाई यो आग्रह छ ।’

आफ्नो पार्टी नेतृत्वको सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधीशहरु, सरकारका विरुद्धमा मुद्दा दर्ता गर्न सम्पूर्ण पहल र प्रयास गर्ने मुद्दावालाहरु, त्यसका पक्षहरुले महत्वपूर्ण मेडल पाएको नेम्वाङले उल्लेख गरेका छन् ।

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसद्‌मा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले संविधान दिवस नमनाउने भन्नकुरा नसुहाएको बताए । संविधान स्वीकार्य भएको पनि उनको भनाइ थियो ।