केपी ओलीले पदकबारे माधव नेपाललाई भने, ‘आज बाउको मुख हेर्ने दिन हो ?’

आइतबार, ३ असोज २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर गएका माधव नेपाललाई कटाक्षा गरेका छन् । सरकारले घोषणा गरेका पदकका विषयमा बोल्दै नेपालमाथि कटाक्ष गरेका हुन् ।

ओलीले नेपालका बुवालाई पदक दिएको भन्दै आक्रोश व्यक्त गरे । शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले सातौं संविधान दिवसका अवसरमा नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधवकुमार नेपालका पिता मंगलप्रसाद उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका हुन्।

‘आजको गठबन्धनले के गर्दैछ, ७० दिनमा पूर्णता पाउन सकेको छैन। कति हाइसञ्चो छ हेर्नुस् त। संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, सहिदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन्’ उनले भने ।

उनले अगाडि भने, ‘जनतालाई होइन बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपुत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान सम्मान ? कस्ता भोका, झुटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म।’

उनले प्रचण्डकी श्रीमती सीता र माधवका पिता मंगलप्रसादले पदक पाएकोतर्फ संकेत गर्दै सोधे, ‘सहिदका आमाबुवा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

बाहिर जनताका लागि राजनीति गरेको भन्नेहरुले मौका पाउँदा परिवारका सदस्यलाई बोकेको भन्दै ओलीले पदक पनि लजाएको टिप्पणी गरे।

‘कस्तो भोक, आकांक्षा, तृप्ति होरु बाहिर म जनताका लागि हो भनेर बोल्ने, परिवारका लागि होइन भन्ने। मौका पाउँदा हेर्नुस् त’, उनले भने, ‘ती विभूषण, मानपदवी लजाइरहेका छन्, हेर्नुस् त शरम मान्या छन्। बोल्न सक्ने भए उफ्रिन्थे तिनी। तर, बोल्न सक्दैनन्। लज्जाजनक छ।’

आफ्नो सरकारविरुद्ध लेख्ने पत्रकारलाई पदक बाँडेको भन्दै ओलीले आक्रोश पोखे। ‘अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने सञ्चारमाध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ। खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो’, उनले भने।

झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यहीँ बोल्नेलाई पदबाट सम्मानित गरेकोमा ओलीको आक्रोश थियो।

‘दुईचार छुटे जस्तो लाग्यो। तिनलाई किन छोडेको होला ?’ ओलीले प्रश्न गरे, ‘मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाँधेको हुन्छ। न्यायमूर्तिहरुले तराजु कता फर्काइने ? सबैका लागि यो लज्जाजनक विषय हो। इतिहासले निर्मम मूल्यांकन गर्नेछ ।’

आफ्नैलाई बाँड्ने राष्ट्रपतिबाट नभइ सीधै घर लगेर बाँड्न उनको सुझाव थियो। ‘किन राष्ट्रपतिबाट बाँडिरहनुपर्‍यो ? आफैँ आफैँ घर लगेर जाऊ न ! आफैँ बाँडौँ न,’ उनले भने।