माओवादीबाट चर्चानै नभएका ३ जना मन्त्री बन्दै
काठमाडौँ – नेकपा माओवादी केन्द्रले मन्त्रीका लागि नयाँ अनुहार सिफारिस गरेको छ । माओवादीले तीन जनालाई पहिलो पटक मन्त्रीका लागि सिफारिस गरेको हो ।
दल विभाजनका लागि ल्याएको अध्यादेश खारेज गरे पछि सत्ता गठबन्धनका नेताहरु मन्त्रीपरिषद विस्तार गर्न जोडतोडले लागेका छन् ।
आज विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको नाम लिष्ट बुझाएर फर्किएका छन् । अध्यक्ष प्रचण्डले बुझाएको नाममा केहि पात्रले सप्राइज पाएका छन् ।
स्रोतका अनुसार पार्टीले पाउने बाँकी चार मन्त्रीको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएर फर्किएको बताएका छन् । स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल र देवेन्द्र पौडेल प्रचण्डको रोजाइमा परेका छन् ।
त्यस्तै, समानुपातिक सांसद अञ्जना बिसंखे र बाँकेका महेश्वर गहतराजको नाम प्रधानमन्त्रीको हातमा परेको छ । माओवादीबाट यसअघि पम्फा भुसाल ऊर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।
गठबन्धनमा काँग्रेसले ७, माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्री लिने सहमति भएको बुझिएको छ । सोहीअनुसार माओवादीले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो ।
माओवादीको स्थायी कमिटी बैठकले यसअघि नै मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
माओवादीमा केही नेताले पटक–पटक मन्त्री बन्ने अवसर पाउँदा अन्य नेतामाथि अन्याय भएको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला यसपटक भने तीन जना नयाँ अनुहार मन्त्रिपरिषदमा देखिने भएका छन् ।
शर्मा,भुसाल र गजुरेल पटक–पटक मन्त्री बनिसकेका छन् भने पौडेल, विशंखे र गहतराज पहिलोपटक सिंहदरबार छिर्न लागेका हुन् ।
माओवादीमा भूगोल, समानुपातिक र नयाँ तथा अनुभवीलाई समेटेर मन्त्रिपरिषदमा पठाउनुपर्नेमा नेताहरुले जोड दिँदै आएका थिए ।