बालुवाटारमा जुट्यो गजवको सहमति, माधव नेपाल खुशीले गदगद हुँदै फर्किए
काठमाडौँ – बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताहरुबीच गजवको सहमति भएको छ । नेकपा एकीकृत समाजवादीको पक्षमा सहमति भएपछि माधव नेपाल खुशी हुँदै बालुवाटारबाट फर्किएका छन् ।
जसअनुसार प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको जानकारी दिए ।
दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।
हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ ।
यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा माधव नेपाल पक्षले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएपनि काँग्रेसले समेत आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दा कसको नेतृत्व रहने भन्नेमा अलमल रहँदै आएको थियो ।
तर अब गठबन्धनमा सहभागी जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ ।