साना लगानीकर्तालाई अर्को खुशीको खबर, बजार घट्दा देखियो अनौठो जादु
काठमाडौँ – साना लगानीकर्तालाई खुशीको खबर छ । सूचीकृत कम्पनीहरूको लाभांश घोषणापछि बजारका ट्रेडर्सहरूले सट्टेबाजी गर्ने क्रम घट्न थालेपछि लगानीकर्तामा खुशीयाली छाएको हो ।
उच्च मूल्य पुगेका केही कम्पनीहरूबाट लगानीकर्ताले गत आवको नाफापछि सोचेअनुरूप लाभांश प्राप्त गर्न नसकेपछि यस्ता सेयरमा सट्टेबाजी गर्नेहरूमा कमी आएको छ ।
उदाहरणकै लागि पाँच वर्षमा औसतमा १४ दशमलव २१ प्रतिशत लाभांश दिएको आइसिएफसी फाइनान्सको सेयर मूल्य ११ सय १२ सम्म पुग्यो । कम्पनीले केही समयअघि १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दियो । हाल मूल्य करिब ४० प्रतिशत घटेर ६ सय ७५ मा छ ।
यही दरमा बोनससहित लाभांश घोषणा गरेको केही कम्पनीको मूल्य चार सयमुनि छ । त्यसैले पनि यस्ता कम्पनीमा सट्टेबाजी गर्ने क्रममा केही कमी आएको छ ।
त्यस्तै, हालसम्म लाभांश घोषणा नगरेका र लाभांश नै नदिएर साधारणसभा सम्पन्न गरेका केही नयाँ बिमा कम्पनीहरूको मूल्यमा पनि उच्च गिरावट देखिन्छ । सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्सलगायतका कम्पनीहरू यसैका उदाहरण हुन् ।
यस्तै अर्को कम्पनी हो, एनआइसी एसिया लघुवित्त । कम्पनीको सेयर मूल्य बजार उच्च हुँदा एक हजार सात सय ८० सम्म पुगेको थियो ।
मात्रै ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीको मूल्य ४० प्रतिशतले घटेर एक हजार ६३ रुपैयाँमा आइपुगेको छ । यद्यपि, कम सेयर आपूर्ति भएका र यसअघि उच्च मूल्य पुगेका कम्पनीहरूको पुरानै मूल्यका आधारमा लगानीकर्ताबीच मोलमोलाइ भने कायमै रहेको देखिन्छ ।
गत साता भने बजार ८२ अंकले घटेको छ । बैंकहरूमा तरलता अभाव चुलिँदै जाँदा यसको प्रभावसमेत बजारमा परिरहेको छ । बुधबार बजार बढ्ने प्रयासमा देखिएको भए पनि यो डेड क्याट बाउन्समा परिणत भएको देखिन्छ ।
यद्यपि, नेप्सेले दुई हजार पाँच सयको टेवा भने परीक्षण गरिरहेको छ । सातामा १३ अर्ब रुपैयाँको कारोबार भएको बजारमा दैनिक औसत कारोबार पनि दुई अर्ब ७१ करोडमा सीमित भएको छ ।
नेप्सेको मैनबत्ती चित्र विश्लेषणअनुसार साताको अन्तिम तीन दिनमा थ्री इनसाइट अप बुलिस प्याटर्न बन्नबाट चुकेको छ । अन्तिम तीन दिनमा सुरुका दुई दिन हरामी आकृति बने पनि तेस्रो दिनको मैनबत्ती सुरुको आकृतिभन्दा माथि लाग्न सकेको छैन । यसले बजारले बढ्न गरेको प्रयास असफल भएको देखाउँछ ।
नेप्सेको मुभिङ एभरेज रेखाले बजार बियरिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छ । नेप्सेको सातदिने मुभिङ रेखालाई केही समयअघिदेखि २१ दिने मुभिङ रेखाले काटेर माथि लागेको छ । यसलाई डेथ क्रसओभर भनिन्छ ।
यद्यपि, छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा समेत परिवर्तन देखिएकाले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सातदिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ ।
१४ दिने आरएसआई सूचकले बजारमा अधिक बिक्रीको अवस्थाबाट सुधार भएर केही माथि लागेको संकेत गर्छ । गत साता यो सूचक करिब ३५ स्केल हुँदै बढेर ३९ दशमलव ४२ सम्म आएको छ ।
स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । नयाँ पत्रिकाबाट