जे चाहनुहुन्छ, त्यही सोच्नुहोस्
काठमाडौँ – कहिल्यै सोच्नुभएको छ, ‘तपाइँसँग जे जति छ, त्यो किन तपाइँसँग छ ? वास्वतमा ती चीजसँग तपाइँको मनमा तीव्र आकर्षण छ, त्यसैले तिनीहरू तपाइँसँग छ । तपाइँ ती सबै चीज चाहनुहुन्छ जो कुनै रूपमा तपाइँसँग छ ।’
मनमा जुन चीजप्रति आकर्षण हुन्छ, मान्छे त्यसलाई पाउन सक्दछ । तर, प्रश्न उठ्छ, के उसले त्यसको लागि गम्भीरतापूर्वक सोचेको छ ? के त्यसको लागि प्रयास गरेको छ ? के उसमा आफ्नो लगनशीलताप्रति आत्मविश्वास छ ?
आज जे जति हाम्रो आफ्नो छ, त्यो त्यति बेलासम्म मात्र हाम्रो आफ्नो हुन्छ जबसम्म हामी त्यसलाई चाहन्छौं । मलाई मेरो स्कुटरप्रति आकर्षण छ, त्यसैले यो मसँग छ । नत्र यो मसँग रहँदैन ।
यस्तै ढंगले यदि तपाई आशा, सफलता र सुख–संवृद्धि चाहनुहुन्छ भने, त्यसैको विषयमा सोचविचार गर्नुहुन्छ भने, र प्रयास पनि गर्नुहुन्छ भने, तपाई त्यसलाई प्राप्त गरेरै छाड्नुहुन्छ । त्यही सोच्नुहोस्, जे तपाईं चाहनुहुन्छ । तपाई को हो ?
एकछिन सोचिहेर्नुस् त, तपाइँभित्र कति शक्ति लुकेर बसेको छ ? तपाईलाई यो थाहा छैन । तपाइँले आफूलाई कमजोर र तुच्छ सम्झिराख्नुभएको छ, त्यसैले तपाइँ कमजोर र तुच्छ हुनुहुन्छ ।
तपाइँ तुच्छता मात्र सोच्नुहुन्छ भने तुच्छता नै पाउनुहुन्छ । सफलताको कुरा, प्रगतिको कुरा सोच्नुहुन्छ भने सफलता र प्रगति नै पाउनुहुन्छ । त्यसैले तपाइँ असल, प्रगति र सफलताको कुरा मात्र सोच्नुहोस् । त्यही सोच्नुहोस्, जे तपाईं चाहनुहुन्छ ।
तपाई सफलताको बाटोमा अघि बढ्नुहुन्छ, प्रयत्न गर्नुहुन्छ भने सफलता तपाइँलाई हात लाग्ने नै छ । जब तपाईं असफलताको विचार र आफूप्रति शंका गर्न थाल्नुहुन्छ, तपाइँको सामुन्ने असफलता नै आइपुग्छ, सफलता पर पुग्दछ । किनभने तपाई अझै सफलताको विरुद्धमा सोचिरहनुभएको छ, विपरीत तपाइँको मनमा कुनै वस्तुप्रति तीव्र आकर्षण र चाहना छ भने मान्नुहोस् त्यो चीज तपाईंको लागि सुरक्षित छ, तपाइँ त्यो चीज पाउनुहुन्छ नै ।
तपाइँले आफ्नो वरिपरि दुःख र चिन्ताको घर बनाउनुभएको छ भने त असफलता नै मिल्दछ । त्यसैले चिन्ता गर्दै नगर्नुस् । निराश पटक्कै नहुनुस् । आफ्नो चाहनाप्रति दृढ संकल्पित रहनुस् । त्यसको लागि प्रयास गर्दै जानुस्, एकदिन प्राप्त गर्नुहुन्छ नै ।
सफलताको विचार नत्याग्नुस्, त्यसैलाई सोच्नुस्, त्यसलाई निरन्तर ध्यान दिइराख्नुस् । असफल भइन्छ भन्ने कल्पनै नगर्नुस् । सफलता आफै तपाइँको छेउमा आइपुग्छ ।
संसारमा जे जति मानिस सफल भए, उनीहरू सबैको सफलताको रहस्य हो उनीहरू आफ्नो सम्पूर्ण शारीरिक तथा मानसिक शक्तिको प्रयोग गरेर आफ्नो लक्ष्यतिर बढेका थिए, उनीहरूले अरूले के भन्दै छन् भन्ने ध्यान नै दिएनन् ।
आफ्नो इच्छा पूर्तिको लागि आफनो आत्माको आवाजलाई भगवानको आशिर्वाद ठानेर उनीहरू निरन्तर आफ्नो कर्ममा अगाडि बढिरहे । यो एक सत्य हो । सुषुप्त तर ठूलो सत्य हो ।