आत्मविश्वास सबैभन्दा ठूलो हतियार हो

बुधबार, १ मंसिर २०७८

काठमाडौँ – जसलाई आफूप्रति विश्वास छ, भगवानको शक्ति र अस्तित्वप्रति विश्वास छ, त्यही व्यक्ति परिश्रमपूर्वक शिखर चढ्दै जान्छ । कुनै बाधा अवरोधले उसलाई रोक्दैन ।

ऊ निराशाबाट सधै बच्दछ । कष्ट र अवरोधलाई ऊ सूर्यको अगाडि मडारिएको बादल जस्तो ठान्छ जसले सूर्यलाई धेरै बेर छेक्न सक्दैन ।

दुःख, कष्ट र असफलताको बादल पनि एक दिन अवश्य हट्दछ । रातपछि दिन आउँछ । अँध्यारोपछि उज्यालो फैलिन्छ । यसैगरी उदासीको पछि खुशी आउँछ । आज दुःख त भोलि खुशीको वर्षा नै हुन्छ ।

तपाईं आफ्नो उद्देश्यप्रति दृढ हुनुस् र परिश्रम गर्दै जानुस् । के कुनै जादुको छडी छ, कुनै चमत्कार छ, कुनै त्यस्तो शुभमणि छ, र अलादिनको जादूई चिराग छ भने त्यो परिश्रम नै हो । श्रम नै आखिर भाग्य हो, भाग्यको पुष्प गुच्छा हो ।

अल्छिपन काममा र उन्माद सफलताको बाटोमा सबैभन्दा बढी अवरोध खडा गर्दछन् । अल्छिपनले त साहसको डोरी नै चुंडालिदिन्छ । स्फूर्ति र तेज समाप्त पारिदिन्छ । विस्तारै–विस्तारै मानिस मरेको सरह हुन जान्छ ।

जो व्यक्ति केही काम पनि गर्दैन वास्तवमा ऊ मरेको सरह नै हो । ऊ एक जिउँदो लाशभन्दा बढी केही हुँदैन ।
जो व्यक्तिसंग गर्नको लागि कुनै काम छ, त्यो भाग्यमानी हो । जोसँग काम छ, यसलाई त्यो भन्दा बढ्ता के चाहियो रु काम ठूलो धन हो । र, कर्म नै जीवनको सार्थकता हो ।

परिश्रमको दोस्रो नाम जीवन हो । परिश्रमबाट नै जीवनमा आनन्दको बहार आउँछ, स्वास्थ्यमा सुधार आउँछ, रोगबाट मुक्ति मिल्दछ । गरेर त हेर्नुहोस् । तपाइंमा शक्तिको संचार सुरू हुन्छ । परिश्रमबाट शक्ति बढ्दछ, गुण बढ्दछ । परिश्रमले हामीलाई सफलताको नजिक पुऱ्याउँछ । त्यसैले श्रम नै सफलताको रहस्य हो ।

तपाइँको काम जति सुकै सामान्य किन नहोस्, त्यसको फल जतिसुकै कम किन नहोस्, त्यसलाई पूरा ध्यान दिएर पूर्ण परिश्रमपूर्वक गर्नुहोस् । ईश्वरमाथि भर गरेर सानोभन्दा सानो कामलाई पूरा लगनशीलताको साथ गर्नुहोस् ।

अरूभन्दा तपाइँ राम्रो गर्ने कोशिश गर्नुहोस् सफलता तपाइँको ढोकामा मुस्कुराउँदै आइपुग्छ । परिश्रम गर्नुहोस् र अगाडि बढ्नुहोस् । भगवान् तपाइँको दाहिने छन्, सफलता तपाइँको सामुन्ने प्रतिक्षारत छ ।