अनुजमणिको सीइओ बन्ने सपना चकनाचुर !
काठमाडौं – कुमारी बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) हुन् अनुजमणि तिमल्सिना । बैंकको सीइओ बन्ने उनको सपना चकनाचुर भएको छ ।
नक्कली धनीपुर्जा धितो राखेर बैंकले १९ करोड रुपैयाँ लगानी गरेको प्रकरणमा तिमल्सिनाको संलग्नता देखिएपछि उनको सीइओ बन्ने सपना चकनाचुर भएको हो । नेपाल राष्ट्र बैंकले यो विषयलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरेकाले तिमल्सिनाको करिअरमा धक्का लाग्ने निश्चित भएको हो ।
प्रारम्भिक अनुसन्धानले कार्यबाहक सीईओको रुपमा रहेका तिमल्सिनाको संलग्नता देखिएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ । बैंकहरुमा सानो परिमाणको ऋण बैंकको शाखा कार्यालयले नै स्वीकृत गर्ने र ठूलो परिमाणको ऋण बैंकको प्रधान कार्यालयबाट मात्रै स्वीकृत हुने गरेको छ ।
२० करोड रुपैयाँ ऋण लगानी गर्दा भने सञ्चालक समितिको स्वीकृति लिने प्रचलन छ । ‘यो ऋण पनि सीईओको टेबुलसम्म पुगेर स्वीकृत भएको प्रारम्भिक अध्ययनले देखाउँछ, अहिले अध्ययन प्रारम्भिक चरणमै छ’ राष्ट्र बैंक सुपरीवेक्षण विभागका एक अधिकृत भन्छन्, ‘यसमा अरु को–को संलग्न थिए भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको छ ।’
गायक योगेश्वर अमात्यको नाममा रहेको बाराको १२ बिघा जमिनको नक्कली लालपुर्जा धितो राखेर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिइएको घटनामा प्रहरीको अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ ।
एसके महर्जन र मुक्तिलाल गौतम नक्कली जग्गाधनी बनेर ऋण लिइएको थियो । जग्गा बाराको भएपनि ऋण भने काठमाडौंको न्यूरोड शाखाबाट लगानी भएको छ । ठूलो रकम भएकाले प्रधान कार्यालयले स्वीकृत गरेर पठाएपछि न्यूरोड शाखाले ऋण दिएको हो ।
ऋण लिनका लागि सम्बन्धित पालिकाबाट चारकिल्ला प्रमाणित कागजात समेत लिनुपर्छ । नापी कार्यालयबाट जग्गाको ट्रेस लिएर सबै कागजातहरु पूरा भएपछि मालपोतमा जग्गा रोक्का हुनुपर्छ । वडाको चार किल्ला सक्कली हो कि नक्कली हो भन्ने विषयमा भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नापी कार्यालयबाट जग्गाको नक्सा लिन ऋण दिने बैंकको पत्र चाहिन्छ । बैंकको पत्र पछि मात्रै नापी कार्यालयले नक्सा उपलब्ध गराउने हो ।
जग्गा रोक्का गर्न जग्गाधनीसँगै बैंकको पत्र लिएर बैंकको कर्मचारीसमेत सँगै जानुपर्ने हुन्छ । यसर्थ, बैंकको मिलेमतो बिना नक्कली लालपुर्जा बनाउन सम्भव छैन ।
अहिले प्रहरीले शाखाका तल्लो तहमा काम गर्ने कर्मचारी र नक्कली जग्गा धनीलाई मात्रै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर राष्ट्र बैंकले भने कुमारी बैंकका कार्यबाहक सीईओ तिमिल्सनालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।
‘बैंकको कसै न कसैसँगको सहकार्य बिना जग्गा रोक्का भएको कागजात होस या नक्सा तयार हुनै सक्दैन, यसकारण बैंकका कोही कर्मचारी दोषी पक्कै छन्’ ती अधिकारी भन्छन्, ‘अहिले पक्राउ परेका कर्मचारी भनेको जुनियर असिस्टेन्ट हो, त्यति तलको कर्मचारीको मात्रै संलग्नतामा यति ठूलो बदमासी भएको भन्न सकिन्न ।’
राष्ट्र बैंकका अनुसार नक्कली धितोमा कर्जा प्रवाह भएको विषय बाहिर नआउँदै बैंकले ऋण असुली गरिसकेको छ ।