श्रम मन्त्री बन्दै मेटमणी चौधरी, किसान श्रेष्ठलाई नयाँ जिम्मेवारी
काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरी श्रम, रोजगार तथा सामाजिक मन्त्री बन्ने भएका छन् ।
सत्तारूढ गठबन्धनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेर चौधरी श्रम मन्त्री बनाउने तयारी थालेको हो ।
यससम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सहमति भइसकेको स्रोतको दाबी छ ।
उद्योग मन्त्रालय यतिबेला खालि छ । पछिल्लो पटकको मन्त्रिपरिषद बिस्तारमा गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाइएको थियो ।
तर प्रधानन्यायाधीशको कोटाबाट उनलाई मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि उनले दुई दिनमै राजीनामा दिएका थिए ।
प्रधानमन्त्री देउवासँग सहमति भएपछि आजै (आइतवार) अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बोल्दै खालि रहेको उद्योग मन्त्रालयमा मन्त्री चाहिए आफूले दिने बताएका थिए ।
मन्त्री बन्न लागेकोबारे चौधरीले आफूलाई केही थाहा नभएको बताए ।
उनले भने, ‘म गृहजिल्लातिरै छु । मन्त्री बन्नेबारे मलाई केही प्रस्ताव आएको छैन ।’
चौधरीले अघिल्लो पटक भएको मन्त्रीपरिषद् विस्तारमा आफूलाई उपेक्षा गरेको भन्दै विरोध गरेका थिए । आफूसँग पैसा नभएकाले मन्त्री बन्न नपाएको बताएपछि अध्यक्ष माधवकुमार नेपालको चौतर्फी आलोचना भएको थियो ।