चितवन पुगेर पनि छोडेनन् ओलीले बार्दली
चितवन – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर पनि बार्दलीबाट हाइ–हेल्लो गरेका छन्।
नारायणगढस्थित रहेको मेन रोडको एक घरमा केही समय बिताएका उनले बार्दलीबाट हाइ–हेल्लो गरेका हुन्।
महाधिवेशन उद्घाटन गर्न पुग्नुअघि ओली उक्त घरमा प्रवेश गरेका थिए।
उनी उक्त घरमा पसेपछि कार्यकर्ता त्यहीँ ओइरेका थिए। सुरक्षाकर्मीलाई उक्त भीड सम्हाल्न मुस्किल परेको थियो।
कार्यकर्ताको ओइरो लागेको थाहा पाएपछि दोस्रो तल्लाको बार्दलीबाट निस्केर सबैलाई ओलीले हात हल्लाए।
त्यसपछि उक्त स्थानमा केपी ओली जिन्दावादको नारा गुन्जिएको थियो।
बार्दलीबाट ओर्लिएर ओली केही बेरमा आफ्नो सवारीमा पुगेका थिए। गाडीमा चढ्दा पनि ओलीले चारैतिर घुमेर कार्यकर्तालाई हात हल्लाए।
नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशन चितवनस्थित नारायणी नदिको किनारमा भव्य रुपमा उद्घाटन गरिएको छ ।
उद्घाटनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोखरेल, राप्रका अध्यक्ष कमल थापा लगायतको उपस्थिति रहेको थियो ।