कमल थापाको टिम तयार, यी हुन् रेखा थापाकी प्रतिशपर्धी
काठमाडौं – राप्रपा अध्यक्ष कमल थापाले आगामी नयाँ कार्यकालका लागि टिम तयार पारेका छन् ।
सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचन लड्नका लागि थापाले टिम तयार पारेका हुन् ।
बलियो साथसहित अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका राजेन्द्र लिङ्देनले सहमति जनाउने संकेत नदेखाएपछि थापा समूहले आफ्नो टिम बनाएको हो ।
थापा निकट एक नेताकाअनुसार उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान लड्ने भएका छन् ।
महिला महामन्त्रीमा रोशन कार्की लड्नेछिन् । उनसँग लिङ्देनको टिमबाट रेखा थापा चुनावी मैदानमा हुनेछिन् ।
महामन्त्रीमा जयन्त चन्द पनि उमेदवार बन्नसक्ने एक नेताले बताए । यस्तै महामन्त्रीमा भुवन पाठक, कुन्ति शाहीमध्ये एकजना महामन्त्रीमा टुङ्गो लाग्ने ती नेताले जानकारी दिए ।
राप्रपाको विधानमा ६ जना उपाध्यक्ष र ६ जना महामन्त्री बन्ने व्यवस्था छ । जसमध्ये ३ जना प्रत्यक्ष र ३ जनालाई अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
उपाध्यक्ष र महामन्त्रीमा एक एकजना महिला अनिवार्य गरिएको छ ।
पदाधिकारीमा ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एकजना कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ ।