राप्रपा महाधिवेशनमा पनि छिर्यो एमसीसी, कमल थापालाई आपत
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन काठमाडौँमा जारी छ । राप्रपाको यो महाधिवेशनमा अमेरिकी सहयोग परियोजना एमसीसीले पछि प्रबेश पाएको छ ।
त्यही एमसीसीका कारण अध्यक्ष कमल थापालाई धक्का लाग्ने देखिएको छ । प्रतिनिधि कमल थापा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नुपर्छ भनेर सार्वजनिक मंचबाट बोलेकाले राष्ट्रघाती थापालाई जिताउन नहुने बताउन थालेका छन् ।
‘एमसीसी पास गर्छु भन्ने, देशलाई सिरिया बनाउन खोज्ने ?’ एक प्रतिनिधिले भने, ‘राप्रपा अध्यक्ष बनेपछि पनि एमसीसी पास गर्नैपर्छ भन्लान । अनि जनताले भोट दिन्छन् । भएको एक सिट पनि गुम्छ । कमल थापालाई जसरी पनि हराउन पर्छ ।’
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको हो । १ सय ९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनीत हुन्छन् ।
राप्रपाले जारी महाधिवेशनबाटै ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी संशोधित विधान अनुमोदन गरेको हो । राप्रपाको जारी महाधिवेशनबाट भइरहेको नेतृत्व चयनको प्रक्रियालाई राजनीतिक वृत्तबाट चासोका साथ हेरिएको छ ।
बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्नेगरी प्रक्रिया अघि बढेको हो ।
थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार छन् । तर थापाले उपाध्यक्ष राखेका विक्रम पाण्डे भने लिङ्देनतर्फ खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारमा उभिएका छन् ।
थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार छन् ।
यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा पाण्डेलाई राखेका छन् । उनी लिङ्देनतर्फ खुलेपछि थापालाई त्यसको असर पर्ने देखिन्छ । लिङ्देनतर्फबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ मैदानमा छन् ।
यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन् ।
यो महाधिवेशनमा कमल थापा कमजोर भएका छन् । लामो समय कमल थापासँगै रहेर काम गर्दै आएका नेता मोहन श्रेष्ठले पनि उनको साथ छाडेपछि उनी थप कमजोर भएका हुन् ।
उनी जारी महाधिवेशनमा लिङ्देन समूहबाटै खुला केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । थापाको नेतृत्वमा रहेको राप्रपा नेपालदेखि नै उनी प्रचार विभाग प्रमुखका रूपमा काम गर्दै आएका थिए भने हाल पनि उनी सो जिम्मेवारीमा छन् ।
राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षमध्येका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् ।
लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई यसअघि नै पत्रकारसम्मेलनमार्फत नै आग्रह गरेका थिए । उनले लिङ्देनलाई सघाउन गरेको आग्रह थापाले नटेरेपछि राप्रपा चुनावी प्रक्रियामा अघि बढेको हो ।
‘अब नयाँ नेतृत्वलाई काम गर्न मौका दिऊँ, म अध्यक्षद्वय कमल थापा र पशुपतिशमशेर जबरालाई नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन पनि आग्रह गर्छु,’ लोहनीले भनेका छन् ।
लोहनीनिकट नेता जनकराज पाठकले लोहनीसमूहमा रहेका सबै नेताहरू लिङ्देनको पक्षमा स्पष्ट रूपमा मैदानमा रहेको जानकारी दिए । उनीसमेत लिङ्देनकै समूहबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार छन् ।
राप्रपाका तीन अध्यक्षमध्येका एक अध्यक्ष पशुपतिशमशेर जबरा भने जारी नेतृत्व चयनको प्रक्रियामा कसलाई सघाउने भन्नेमा स्पष्ट खुलेका छैनन् । तर, उनीनिकट रहेर काम गरेका राप्रपाका नेताहरू भने लिङ्देनका पक्षमा खुलेका मात्रै छैनन् सो समूहबाट उम्मेदवार नै बनेका छन् ।
जबरानिकट रहेका नेता विक्रम पाण्डे नै लिङ्देनको समूहबाट उपाध्यक्षको उम्मेदवार बनेर उनीसँग मत माग्दै प्रचारमा हिँडेका छन् ।
जबरासँगै रहेर काम गरेका नेता राजेन्द्र गुरुङसमेत लिङ्देनतर्फ नै खुलेका छन् । उनले जबराले नेतृत्व गरेको तत्कालीन दल राप्रपा प्रजातान्त्रिकमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । उनी अहिले केन्द्रीय सदस्य पदमा उठ्दै छन् ।