जब सीईओले ‘जोसमा होस् गुमाए’, तब मन्त्रीले स्टेजबाटै तानेर बाहिर फाले

शनिबार, १८ मंसिर २०७८

पोखरा – ‘जोसमा होस् गुमाउने’ नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीको ठूलो अपमान भएको छ । पोखरा पर्यटन परिषदको कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा पुगेका रेग्मीको अपमान भएको हो ।

उनलाई कार्यक्रम स्थलबाट बाहिर पठाएर कार्यक्रम गरिएको छ । पर्यटनमन्त्री प्रेम आलेले एउटै मञ्च शेयर गर्न नमानेपछि उनलाई कार्यक्रम स्थलबाट बाहिर पठाइएको हो ।

मन्त्री आले शुक्रवार पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण समेत गरेका आलेलाई पोखरा पर्यटन परिषदको २२ औं साधारणसभामा प्रमुख अतिथी बनाइएको थियो ।

आले कार्यक्रमस्थलमा पुग्दा मञ्चमा पर्यटन बोर्डका सिइओ रेग्मी विशिष्ठ अतिथिका रुपमा बसिरहेका थिए । रेग्मीलाई देख्नासाथ मन्त्री आले मन्चमा नगई शौचालयतर्फ लागेका थिए ।

उनले आयोजकहरुलाई बाहिर बोलाएर आफूले कारवाहीका लागि स्पष्टीकरण मागेको व्यक्तिलाई विशिष्ठ अतिथि बनाएको कार्यक्रममा बस्न नमिल्ने बताए ।

मन्त्रीले रेग्मीसँग एकै कार्यक्रममा नबस्ने बताएपछि आयोजकले उनलाई बाहिर पठाएका थिए ।

बेलायतबाट फर्किने क्रममा रेग्मीले विमानस्थलका कर्मचारीमाथि गरेको दुर्व्यवहार प्रकरणमा मन्त्रीकै निर्देशनमा सचिवले स्पष्टीकरण सोधेका थिए ।

रेग्मीले दिएको स्पष्टीकरण तत्कालीन सचिव यादव कोइरालाले गोजिमा बोकेर हिँडेपछि अहिले नयाँ सचिव महेश्वर न्यौपाने पुगेका छन् ।

आचरणविपरित काम गरेको र पर्यटन बोर्डको सिइओको रुपमा कार्य सम्पादन गर्न नसकेको भन्दै मन्त्री आलेले उनलाई हटाउन चाहेका छन् ।

पर्यटन बोर्डका सदस्यहरुले समेत मन्त्रीलाई भेटेर सिइओबाट काम नचल्ने भन्दै आवश्यक कारबाहीमा लागि मन्त्रालयको तर्फबाट सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।