एमसीसी पास गरे ओलीलाई ठेगान लगाउने भीम रावलको घोषणा
काठमाडौँ – नेकपा एमालेका नेता भिम रावलले एमसीसी पास गर्न खोजे कडा प्रतिकार गर्ने बताएका छन् । केपी ओली भए पनि जोसुकै भए पनि जसले एमसीसी बोक्न उसका विरुद्ध आफू खडा हुने रावलको भनाई छ ।
रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
केन्द्रीय कमिटीले गरेका निर्णयले पार्टीमा गुटबन्दी बढेको भन्दै उनले असन्तुष्टि जनाए ।
साँफेबगर नगरपालिका १४ पातलकोटस्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रमा नेता रावलले एमालेमा आइतबार भएको जिम्मेवारी, कार्यविभाजन हेर्दा अध्यक्ष ओलीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढवा दिएको बताएका छन् ।
देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित काम भएको भन्दै उनले पार्टी अध्यक्षबाट गुटबन्दी बढवा दिने निर्णय भएको र त्यसलाई तत्काल सच्याइनु पर्नेमा जोड दिए।
रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताए ।
देश र पार्टी हीतविरुद्ध हुने निर्णयको आफूले खबरदारी गर्दै आएको बताउँदै उनले यसलाई निर्न्तरता दिने बताए ।
नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी पास गर्ने षडयन्त्र पूरा हुन नदिने बताए ।
सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट त्यसलाई अनुमोदन गर्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो ।
एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भइरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड उनले जोड दिए ।