सहमहामन्त्रीमा मुख्यमन्त्री शाहीको लज्जास्पद हार
काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाएर विजयी भएका हुन् । सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याएर पराजित भए ।
तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए। पाण्डे सहमहामन्त्री जित्ने कोइराला प्यानलका दोस्रा उम्मेदवार हुन्।
यसअघि बिहीबार भएको मत गणनामा दलित क्लस्टरबाट उक्त प्यानलका जीवन परियार विजयी भएका थिए।
नेपाली कांग्रेसको विभिन्न क्लस्टरका सहमहामन्त्रीको मत गणना चलिरहेको छ । जसअन्तरगत थप दुई वटा क्लस्टरको मतपरिणाम मतगणना सकिएको छ ।
सहमहामन्त्रीम मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मत पाए । फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।
त्यस्ूतै, नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।