एमसीसीका कारण गठबन्धननै धरापमा परेपछि प्रचण्डको बोली फेरियो

मंगलबार, ६ पौस २०७८

काठमाडौं – नेपालमा फेरी पनि अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा बहसहरु चर्चिन थालेका छन् । सरकारले एमसीसी सम्झौता संसदमा टेबुल गर्न लागेपछि यसको चर्चो विवाद भएको छ ।

एमसीसी रोकेर राखेको नेकपा माओवादी केन्द्रले अब संसदबाट पास गर्ने तर्फ केन्द्रीय छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमसीसी पास गर्नका लागि सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसी पास गराउनेबारे छलफल भएको छ । सो छलफलमा प्रचण्ड सरकारात्मक देखिएको बालुवाटार श्रोतको भनाई छ ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले गठबन्धन भत्काएर भएपनि एमसीसी पास गर्ने बताएपछि प्रचण्ड लचिलो बनेका हुन् । तर, उनको पार्टी भित्र एमसीसीको चर्को विरोध भएको छ ।

तर प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा भने प्रचण्डले एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राखेका थिए । दाहालको पार्टीभित्र एमसीसीलाई लिएर नेताहरुबीच मत विभाजित छ ।

संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी यथास्थितिमा अघि बढाईए ठीक नहुने भनेर सार्वजनिक रुपमै चेतावनी दिएका छन् । गुरुङमात्रै नभएर पार्टीभित्रका प्रभावशाली नेताहरुले एमसीसीको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् ।

तर, प्रचण्ड भने पार्टीभित्र कुनै विग्रह नहोस भनेर सचेत छन् । त्यसैले उनले यही पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनसम्म कुर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पनि साथ लिन तयारी गरेको बुझिएको छ । दाहालले एमसीसीबारे धेरै नकारात्मक हुनुपर्ने कुनै कारण नरहेको पनि टिप्पणी गर्दै आएका छन् ।

यसअघि प्रधानमन्त्री देउवाले बेलायत भ्रमणबाट नेपाल फर्किनेबित्तिकै आफू र दाहालले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई संयुक्त रुपमा पत्र पठाएको पनि खुलासा गरेका थिए।