देव गुरुङलाई पछारेर अघिबढे कृष्णबहादुर महरा
काठमाडौँ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिदै गएको छ । यही पौष ११ गतेदेखि माओवादीले काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ । सो सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
नेतृत्वका लागि माओवादीमा पुष्पकमल दाहाल (प्रचण्ड)को विकल्प छैन् । त्यसपछिका पदहरुमा भने ठूलो रस्साकस्सी हुने देखिएको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने छ ।
कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवलाई मानिन्छ। माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएको डेढ दशकमात्रै भयो। २०५१ सालमा सशस्त्र युद्ध थालेको माओवादीको नेतृत्व तहमा अहिले पनि युद्धकालीन नेताहरू नै छ।
२०६३ मा शान्ति प्रक्रियामा आउँदा माओवादीमा ११ जनाको सचिवालय थियो। सचिवालयमा वरीयताका आधारमा मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, देव गुरूङ, टोपबहादुर रायमाझी, वर्षमान पुन र नेत्रविक्रम चन्द थिए। यीमध्ये अहिले वैद्य, भट्टराई, थापा, गजुरेल, रायमाझी र चन्द माओवादीमा छैनन्। बोगटीको २०७१ सालमा निधन भइसकेको छ। अहिले माओवादीम जम्मा ४ जना नेता बाँकी छन् ।
२०६६ मा माओवादी बहुपदमा गयो। त्यो बेलामा उपाध्यक्ष मोहन वैद्य, बाबुराम भट्टराई, जनमोर्चाबाट एकतामा आएका नारायणकाजी श्रेष्ठ थिए। महासचिव रामबहादुर थापा भए भने सिपी गजुरेल र पोष्टबहादुर बोगटी सचिव भए। २०६९ मा माओवादी विभाजन भयो। वैद्य, थापा, गजुरेलले पार्टी छोडे। उनीहरूसँगै स्थायी, पोलिटब्युरो र केन्द्रीय सदस्यसहितको एउटा पंक्ति बाहिरियो।
२०६९ फागुनमा तत्कालीन एकीकृत माओवादीले सातौं महाधिवेशन गर्यो। त्यो महाधिवेशनले प्रचण्डलाई नै अध्यक्षमा निरन्तरता दियो। त्यसपछि उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भए भने महासचिव पोष्टबहादुर बोगटी बने।
त्यसले पनि माओवादीमा समाधान निस्किन सकेन। २०७१ सालमा विराटनगरमा माओवादीको सम्मेलन भयो। उक्त सम्मेलनले पनि अध्यक्षमा प्रचण्डलाई नै अनुमोदन गर्यो भने वरिष्ठ नेता बाबुराम भट्टराई बने। नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी उपाध्यक्ष भए। महासचिव कृष्णबहादुर महरा बने। टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल र वर्षमान पुन सचिव भए।
माओवादीको यो कमिटी पनि टिक्न सकेन। २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै भट्टराईले पार्टी परित्याग गरे। सोही वर्ष रामबहादुर थापासहित देव गुरूङ, पम्फा भुसाल, मातृका यादवको टिमसँग एकता गरेर एकीकृत माओवादीलाई नेकपा (माओवादी केन्द्र) बनाइयो।
यसलाई आधार मान्दा अहिले पनि माओवादीमा पहिलो वरीयतामा प्रचण्ड नै छन्। त्यस्तै दोस्रो वरीयतामा नारायणकाजी श्रेष्ठ छन् भने त्यसपछि कृष्णबहादुर महरा छन्। महरापछि देव गुरूङ छन्।
सशस्त्र युद्धको सुरूआती चरणलाई आधार मान्ने हो भने महराभन्दा गुरूङ अगाडि थिए। खुला राजनीतिमा आएपछि धेरै पटक गुरूङले महराको नेतृत्व स्वीकारिसकेका छन्। युद्धकालमा पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि सापकोटा पनि महराभन्दा अगाडि थिए। शान्ति प्रक्रियामा आउँदा यी तीनै जना ३५ सदस्यीय केन्द्रीय कमिटीमा थिए।
अर्थमन्त्री तथा माओवादी स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि केन्द्रीय कमिटीमा थिए। अहिले स्थायी कमिटी सदस्य मातृका यादव पनि खुला राजनीतिमा आउँदा ३५ सदस्यीय केन्द्रीय कमिटीमा थिए।
उनीहरू ११ जनाको सचिवालयमा थिएनन्। सापकोटा अहिले सभामुख छन् त्यसैले राष्ट्रिय सम्मेलनमा उनको उपस्थिति रहँदैन।
गुरूङपछि वरीयतामा गिरिराजमणि पोखरेल छन्। पोखरेल एकता प्रक्रियाबाट आएका नेता हुन्। पोखरेलपछिको वरीयतामा वर्षमान पुन छन्।