वर्षमान एक्सनमा उत्रिएपछि प्रचण्डलाई तनाव, चीनबाटै चाले कठोर कदम

मंगलबार, १३ पौस २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । थप उपचार गर्नुपर्ने भएपछि चीनमै बस्न बाध्य भए माओवादी केन्द्रका नेता वर्षमान पुन महासचिवका दावेदार हुन् ।

उनी महाधिवेशनमा सहभागी नभएपछि उनलाई महासचिव बनाउन प्रचण्डलाई असहज भएको छ । उनको ठाउँमा जनार्दन शर्मालाई महासचिव बनाउने प्रचण्ड अगाडि बढेका छन् ।

यो कुराको सूचना आएका वर्षमान चीनबाट दवाव दिलाउन कम्मर कसेर लागेका छन् । महाधिवेशनका बन्दसत्रमा अध्यक्ष प्रचण्डको दस्तावेजमाथि छलफल शुरु भएकै दिन पुन र चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटमा पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् । पार्टी अध्यक्ष प्रचण्डको परामर्शमा नेता पुन र झाओबीच भेटवार्ता भएको पुनको सचिवालयले जनाउनुले कतिपय नेताहरुलाई झस्काइदिएको छ ।

काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन चलिरहँदा सेनजेनमा पुन र झाओबीच भएको उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । वंशाणुगत तथा विरलै देखिने जन्डिस रोगको उपचारका लागि पुन तीन महिनादेखि बैंकक हुँदै चीनमा छन् ।

मंसिर १० गतेदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा पुनको उपचार भैरहेको छ । जसको कारण उनी मंसिर ११ गतेदेखि सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनमा पनि सहभागी हुन सकेनन् । यद्यपी, उनले महासचिव पदका लागि लबिङ गरिरहेका छन् ।

सोही पदका लागि अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पनि दावी पेश गरेका छन् । काठमाडौंमा पार्टीको महाधिवेशन चलिरहेको बेला महासचिवका दाबेदार समेत रहेका पुनलाई भेटेर चीनले पुनप्रति सहानुभूति देखाएको अर्थमा पनि विश्लेषण हुँदैछ ।

नेता पुन र सीपीसी नेता झाओबीचको भेटघाटलाई माओवादीको आन्तरिक राजनीतिमा अर्थपूर्णरुपमा लिइएको छ । नेपाली वामपन्थी दलबीच एकता हुनुपर्ने भन्दै पटक–पटक मिल्नका लागि दवाव दिइरहेको चीनले पछिल्लो समय पनि एमाले र माओवादी मिल्नुपर्ने सुझाव दिँदै आएको छ । नेपाली कम्युनिष्ट नेताहरुको भर्चुअल संवादमा चिनियाँ नेताहरुले दुई ठूला वामपन्थी दलहरु मिल्नुपर्ने बेइजिङको सन्देश दिँदै आएका छन् ।

पछिल्लो समय अमेरिकी अनुदान सम्झौता ९एमसीसी० कार्यान्वयन गर्नुपर्ने तालुकदार निकाय अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका नेता जनार्दन शर्मा महासचिवको दाबेदार बनिरहँदा सोही पदमा लबिङ गरिरहेका अर्का नेता पुनलाई भेटेर चीनले आत्मीयता प्रदर्शन गर्नुले महाधिवेशनको महाधिवेशन हललाई तरंगित बनाएकै हुनुपर्छ ।

पुन र सीपीसी नेता झाओबीच नेपालमा एमसीसीलाई लिएर विकसित परिस्थितीबारे पनि छलफल भएको र नेता पुनले अध्ययनका लागि गठित कार्यदलको प्रतिवेदन आएपछि अघि बढ्ने जवाफ दिएको जनाइएको छ । उनै झाओ हुन् जसले यसै महिनाको सुरुआतमा एमाले महासचिव शंकर पोखरेलसँग पनि भर्चुअल संवाद गरेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि चीनले त्यस पार्टी विभाजन रोक्न प्रयास गरेकै हो । माओवादीभित्र विगत लामो समयदेखि कृष्णवहादुर महरा चीनको विश्वासपात्र रहदै आएका छन् । तर पछिल्लो पटक वर्षमान पुनप्रति चीनले सद्भाव देखाएको छ ।

उनको उपचारमा समेत चीन सरकारले सहयोग गरेको छ । माओवादीको राजनीतिमा चीनको सद्भावको पनि ठूलो अर्थ रहन्छ । उसैपनि वर्षमान नेकपा माओवादी केन्द्रमा डिफ्याक्टो महासचिवको जिम्मेवारीमा थिए । तर विरामी भएर विदेश उपचारमा गएपछि जनार्दनले यसबीचमा प्रभाव बढाएका छन् ।

यद्यपी माओवादीको तलैसम्मका संगठनमा वर्षमानको होल्ड रहेकाले उनको अनुपस्थितिमा प्रचण्डले पदाधिकारी चयन जस्ता महत्वपूर्ण निर्णय नगर्न सक्छन् । चीनिया नेतासँगको भेटबाट प्रचण्डमाथि वर्षमानको दबाबमात्र बढेको छैन,चीनले रुचाएकै व्यक्ति माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्छन् भन्ने सन्देश स्थापित गरेको छ ।