माओवादी केन्द्रको निर्वाचन कार्यक्रम स्थगित, यस्तो छ कारण

शनिबार, १७ पौस २०७८

काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको छ ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ ।

आयोगका एक सदस्यले शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी प्रकाशित गरेको कार्यक्रम स्थगित गरिएको बताए ।

सांसद एवं महाधिवेशन प्रतिनिधि रामनारायण बिडारीले पदाधिकारीसमेत हलबाटै टुङ्गाउने प्रयासका लागि निर्वाचन कार्यक्रम आइतबारसम्मका लागि सारिएको बताए ।

यसअघि आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले कार्यतालिका सार्नका लागि आग्रह गरिएको जानकारी गराएका छन् ।

यसअघि माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।