एमाले र नेकपा एसले टुंग्याए राष्ट्रियसभा सदस्यको उम्मेदवार (नामावलीसहित)
काठमाडौं – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।
प्रदेश १ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) उम्मेद्वार बन्ने भएकी छन् ।
पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।
त्यस्तै, नेकपा एमालेले पनि राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार बन्नेछन् ।
प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) उम्मेद्वार बन्नेछन् । बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेद्वार बन्ने भएका छन् ।
लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई टिकट दिइएको छ । कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।
सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ । १२ माघमा हुने निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।