सरकारले फेरी बढायो गाडी भाडा, कति पुग्यो नयाँ भाडादर ?

शनिबार, २९ माघ २०७८

पोखरा – सरकारले फेरी गाडीभाडा बढाएको छ । फागुन १ गतेदेखि लागू हुने गरी सरकारले भाडा बढाइएको हो ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो ।

लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको थियो ।

तर, भाडा दर तोकिएको थिएन । माघ २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर गण्डकी सरकारले सिटी बसमा पहिलो विन्दु (३ किमिसम्म) २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २.५० रुपैयाँ कामय गरेको छ ।

२० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २.५० रुपैयाँ प्रतिकिमिका दरले भाडा लिन पाउनेछन् । प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३.१० रुपैयाँ कायम भएको छ । पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५.५० रुपैयाँ भाडा हिसाव गरेर लिन पाउनेछन् ।

ट्रकहरुले प्रति किमि प्रति टन ११.७२ रुपैयाँ लिन पाउने गरी भाडा तोकिएको छ । ट्याक्सीमा १५ किमिसम्मको फ्लाडाउन (सुरुआती भाडा) बापत ८०सहित प्रति २०० मिटरको १० रुपैयाँ तय भएको छ ।

१५ किमिभन्दा बढीको यात्रा गर्दा प्रतिकिमि ३७.५ रुपैयाँ भाडा दर तय भएको छ । यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो ।

संघीय सरकारले यसअघि नै २८ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरिसकेको छ । यसअघि नै भाडादर समायोजन गरेको बागमती प्रदेशमा ट्याक्सीको शुरुआती भाडा न्यूनतम ६० रुपैयाँ तोकिएको छ ।

बागमतीको २ सय मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेगरी भाडादर निर्धारण गरेको छ । तर, मिटर समायोजन नहुँदा लागू हुन सकेको छैन । जसका कारण यात्रु ठगिन परिरहरेको छ ।