सक्रिय भए पूर्वराजा ज्ञानेन्द्र, आजै चाले यस्तो कदम

शुक्रबार, ६ फाल्गुन २०७८

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् । पूर्व हटाएर उनले आए एउटा विज्ञप्ति निकालेर फेरी नेपालको राजसंस्था सक्रिए भएको संकेत गरेका छन् ।

उनले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गरेका छन् ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार पूर्व राजाले जारी गरेको शुभकामना सन्देशमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भनिएको छ ।

पूर्व राजाले भनेका छन्, ‘आफ्नो देशको प्रकृति र परवेशबाट पृथक भएर बाहिरी लोभ,प्रलोभनमा पर्नु प्रजातन्त्र होइन । प्रजातन्त्र नियन्त्रित र निर्देशित हुँदैन । यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ ।’

‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो ।’ विज्ञप्तिमा उनले भनेका छन्, ‘राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ । न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ ।’

उनले नेपालमा राजसंस्था जिवित रहेको जिकिर गर्दै भनेका छन्, ‘राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छन, रहिरहने छन् ।’

उनले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुयाएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस भएको बताएका छन् ।

उनले जनताले दुःख पाउनुमा नेतृत्वसहित नेपालको निर्वाचन प्रणाली पनि दोषी भएको बताएका छन् । अब यसको समिक्षा गर्नका लागि सबै तयार हुन पर्ने उनको भनाई छ ।

‘प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो ।’ उनले भनेका छन्, ‘अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन ।’