प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो, भयो यस्तो सहमति

बिहिबार, १२ फाल्गुन २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । ‘वान टु वान’ बार्ता गर्ने सहमति भएको छ । सोही सहमति अनुसार अहिले अर्को छलफल भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले वान टू वान छलफल गरिरहेका छन् । संसद भवनमा कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटघाटपछि दुईजनालाई छाडेर अन्य नेता भने बाहिरिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस महामन्त्री ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।

एमसीसी माथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि काँग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

बाबुलाटारमा भएको छलफलको निरन्तरता स्वरुप आजको बैठक बसेको नेकपा एमालेका नेताहरुले बताएका छन् ।

बैठकमा देउवाले एमसीसी पास गर्नका लागि सहयोग गर्न पुनः आग्रह गरेका थिए । जवाफमा ओलीले पहिला गठबन्धन भत्काएर आउन पर्ने शर्त राखेका थिए ।

‘हामी एमसीसी पास गर्त तयार छौँ, तर सत्तापक्षले ल्याएको विजनेशका पक्षमा प्रतिपक्षले भोट हाल्न मिल्दैन् ।’ ओलीको भनाई उदृढ गर्दै श्रोतले भन्यो, ‘त्यही भएर पहिला गठबन्धन भत्काउनुहोस् ।’

ओलीले आफूले कारवाही गरेका सांसदहरुलाई पदमुक्त गर्न देउवासँग माग गरेका थिए । यसबारे देउवाले केही पनि जवाफ दिएका छैनन् ।