एमसीसीविरुद्ध निर्णायक आन्दोलन गर्न विप्लव काठमाडौँमा, भोली हुने छ ‘वारकी पार’
काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्धको निर्णायक आन्दोलन गर्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ आएका छन् । विगत लामो समयदेखि सडक संघर्ष गरिरहेका ६ राजनीतिक दल र २ मोर्चाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विप्लव काठमाडौँ आएका हुन् ।
भोली र पर्सी अर्थात फागुन १५ र १६ गतेको सार्वजनिक गरिएका कार्यक्रममा सहभागी हुन् विप्लव काठमाडौँ आएको निकपा निकट श्रोतको भनाई छ ।
विरोधसभाको कार्यक्रममा परिमार्जन र विकास गरी काठमाडौँलगायत देशभर विशाल प्रदर्शन र काठमाडौँमा प्रदर्शनसहित संसद् भवन घेराउकार्यत्रममा विप्लवको पनि सहभागीता हुनेछ ।
पाँचदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यमान सत्ता गठबन्धन फुटाएर र नयाँ गठबन्धन बनाएरै भए पनि राष्ट्रघाती एमसीसी सदनबाट पारित गराएरै छोड्ने षड्यन्त्र गरेपछि आन्दोलनरत दलहरूले काठमाडौँ खुलामञ्चको विरोधसभालाई विशाल प्रदर्शनमै रूपान्तरण गरी सडक सङ्घर्षलाई बढी प्रभावकारी बनाउने निष्कर्ष निकालेका हुन् ।
६ राजनीतिक दल र दुई मोर्चाको शनिबारमा नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले फागुन १५ र १६ गते घोषणा गरिएका जनसङ्घर्षका कार्यक्रममा व्यापक रूपमा सहभागिता जनाई एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्न सङ्घर्षरत राजनीतिक पार्टीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त र आमनेपाली जनतामा विशेष आह्वान गरेको छ ।
बैठकले फागुन १५ र १६ गते काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट विशाल विरोध प्रदर्शनसहित संसद् भवन घेराउ गर्ने र उपत्यकाबाहिर देशव्यापी रूपमा जिल्लाहरूमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम पनि ठोस गरी सार्वजनिक गरेको छ ।
बैठकपछि शनिबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ र १२ गतेको नयाँबानेश्वरको विरोध प्रदर्शन र संसद् भवन घेराउ कार्यक्रमबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कमरेड वसन्त बोगटी, नेपाल कम्युनिस्ट पार्टीका कमरेडहरू विज्ञान रोक्का, हेमन्तराज खड्का र सुदर्शन पाण्डे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य क। भूपाल सेन्चुरीलगायत दर्जनभन्दा बढी आन्दोलनकारीलाई देउवा सरकारले अहिलेसम्म पनि रिहा नगरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिराखेकाले षड्यन्त्र रोकी तत्काल रिहा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘१२ गतेको जनसङ्घर्षको कार्यक्रममा बानेश्वर अल्फाबिटानजिक गम्भीर घाइते भई अन्नपूर्ण न्युरो अस्पतालमा उपचारमा रहनुभएका अछाम जिल्लाका युवा हेमराज अवस्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । उहाँको निःशुल्क उपचार गर्न नेपाल सरकारसँग विशेष माग गर्दछौँ ।’
संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहाविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।
संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ‘
