चार सांसदले गरे एमसीसीको विपक्षमा मतदान

आइतबार, १५ फाल्गुन २०७८

काठमाडौं – प्रतिनिधिसभाका चार जना सांसदले एमसीसीको विपक्षमा मतदान गरेका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्दा विभिन्न पार्टीका चार सांसदले एमसीसीको विपक्षमा मतदान गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए ।

हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए ।

प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाएका थिए ।

त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए ।

यता नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल र अन्जना विशुंखे तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि कतै पनि मत दिएनन् ।

एमसीसी खारेज हुनपर्छ भन्ने माग राख्दै आएका उनीहरुले एमसीसी पक्ष र विपक्षमा मत नहाल्दा पनि एमसीसी संसदबाट अनुमोदन भएको छ ।

एमसीसी पास भएको विरोधमा विप्लल नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुई राजनीतिक मोर्चा भोली नेपाल बन्दको घोषणा गरेका छन् ।

एमसीसी संसदबाट अनुमोदन गरेपनि फिल्डमा काम गर्न नदिने संकेत स्वरुप भोली नेपाल बन्दको आयोजना गरिएको हो । File Picture