चार बर्षपछि सुरु भयो लोडसेडिङ !
काठमाडौँ – चार बर्षपछि औधोगिक क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले महँगो मूल्यमा समेत विद्युत नपाएपछि लोडसेडिङ सुरु भएको हो ।
भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) विद्युत् उपलब्ध नगराउँदा प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको हो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु (भ्याट र अन्य शुल्कसहित ३८ रुपैयाँ) बोलकबोल गर्दासमेत विद्युत् प्राप्त गर्न नसकेको बताए ।
विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्रवक्ता भट्टराईको भनाइ छ । ‘अहिले ऊर्जा संकटले विश्वव्यापी प्रभाव परिरहेकाले नेपालमा पनि त्यसको असर परेको र त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ प्रवक्ता भट्टराईले भने ।
औद्योगिक क्षेत्रमा झन्डै चार वर्षपछि लोडसेडिङ फर्किएको छ । नेपाल विद्युत् प्राधिकरणले वैशाख ०७५ मा औद्योगिक क्षेत्रलाई समेत लोडसेडिङमुक्त घोषणा गरेको थियो । रुस–युक्रेन युद्ध तथा विश्वव्यापी ऊर्जा संकटको प्रभाव नेपालको औद्योगिक क्षेत्रमा समेत परेको हो ।
यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ कहिल्यै नहुने बताएका थिए । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले अहिले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् अभाव ‘तत्कालिक संकट’ मात्र भएको भन्दै लोडसेडिङ कहिल्यै नहुने बताएका थिए ।
३८ रुपैयाँ प्रतियुनिट तिरेर भए पनि उद्योगमा लोडसेडिङ हुन नदिने प्राधिकरणको प्रतिबद्धता दुई दिन पनि टिक्न नसकेको टिप्पणी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रबलजंग पाण्डेले सामाजिक सञ्जालमार्फत गरेका छन् ।
नेपालले आयात गर्ने विद्युत् भारतले कोइला ९कोल० आयात गरेर उत्पादन गरेको हो । त्यसरी उत्पादन गरिएको विद्युत् मात्र निर्यात गर्न पाउने भारतीय नीति रहेको छ । अहिले भारतमा आयातीत कोइलाको अत्यधिक अभाव छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले विश्वव्यापी ऊर्जा संकटको असर नेपालमा पनि देखिएको, तर यो दीर्घकालीन नहुन सक्ने बताए ।