गठबन्धनले वैशाख ३० को खड्गो काट्दैन देउवाजिकै विस्वासिलो ज्योतिषीले भनेको छ : ओली
गठबन्धनलाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ
काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो वैशाख ३० मा रहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले ज्योतिषलाई उदृत गर्दै गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० भएको बताएका हुन् ।
उनले भने, ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन् । कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन् । त्यही दिन गठबन्धनलाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ । यो ज्योतिषीहरूले भनेका हुन् । उनले आफूले भनेका कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्न समेत आग्रह गरे।
उनले भने, मैले भनेको कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, ज्योतिषीलाई बोलाएर सोध्नुस् ।प्रधानमन्त्रीज्यूले ठयाक्कै–ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको हुँ ।
ओलीले देशभर एमालेले राम्रो मत ल्याएर विजयी हुने दावी गरे।